• Tuesday, March 3, 2026

“विधानअनुसार अघि बढे कांग्रेस फुट्दैन, सबै ढुक्क बस्नुस्” – महामन्त्री विश्वप्रकाश शर्मा


काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विभाजनको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्। कार्यसम्पादन समितिको बैठकपछि केन्द्रीय कार्यालय सानेपामा पत्रकारसँग कुरा गर्दै उनले पार्टी विधानअनुसार अघि बढ्दा कांग्रेस एक ढिक्का भएर अघि बढ्ने विश्वास व्यक्त गरे।

महामन्त्री शर्माले भने, “विधानको व्यवस्थाअनुसार कार्यक्रम गरेर जाँदा कांग्रेस फुट्दैन, एक ढिक्का रहन्छ। कसैले आशंका नगरे हुन्छ।” उनले पार्टीभित्र देखिएको मतभिन्नतालाई स्वाभाविक प्रक्रियाको रूपमा लिँदै सबैलाई ढुक्क भएर बस्न आग्रह गरे।

अहिलेको राजनीतिक अवस्थामा विशेष महाधिवेशन गरेर नयाँ नीति र नेतृत्व चयन गरी निर्वाचनमा जानुपर्ने आवश्यकता औंल्याउँदै शर्माले तोकिएको मितिमा मात्र सीमित नभई ठोस निर्णय र कार्यान्वयन हुनुपर्ने बताए। “महाधिवेशन गरेर नयाँ नीति र नेतृत्व चयन गरेर निर्वाचनमा जानुपर्थ्यो। हामीले मिति त तय गर्‍यौँ तर मिति मात्रै तय गरेर केही गरिएन,” उनले थपे।

कांग्रेसभित्र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा देखिएका छन्। तर, संस्थापक समूह भने निर्वाचनअघि पार्टी अधिवेशन गर्नु उपयुक्त नहुने अडानमा रहँदै आएको छ।

यसैबीच, महामन्त्री शर्माले पार्टीभित्र देखिएका मतभिन्नता र बहसलाई संगठन सुदृढीकरणको अवसरका रूपमा लिनुपर्ने धारणा राख्दै कांग्रेस एकताबद्ध भएर आगामी निर्वाचनको तयारीमा जुट्ने विश्वास व्यक्त गरे।

Please Login to comment in the post!

you may also like