काठमाडौं। सुर्खेत प्रदेश अस्पतालमा स्वास्थ्य बिमाको रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतले तीन जनालाई दोषी ठहर गर्दै जनही दुई वर्ष कैद सजाय सुनाएको छ। साथै अदालतले उनीहरूबाट २४ लाख रुपैयाँभन्दा बढी बिगो तथा सोही बराबरको जरिवाना असुल गर्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश सुदर्शनदेव भट्ट तथा सदस्यद्वय न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले शुक्रबार उक्त फैसला सुनाएको हो।
दोषी ठहर हुनेमा प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, सामाजिक सेवा एकाइ कार्यक्रमतर्फ करार कम्प्युटर अपरेटर तृप्ती शाही र कुमारी बैंकको एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिंजाली मगर रहेका छन्।
अदालतका अनुसार उनीहरूले स्वास्थ्य बिमाको रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर भएको कुल विगो २४ लाख २ हजार ९० रुपैयाँ रहेको छ। उक्त रकम दामासाहीका आधारमा सुवेदी, शाही र मगरले जनही ८ लाख ६९६ रुपैयाँ ६६ पैसा बेहोर्नुपर्ने देखिएको छ।
त्यस्तै, स्वास्थ्य बिमातर्फ हिनामिना भएको थप १ लाख ६५ हजार ४३६ रुपैयाँ ५० पैसामध्ये सुवेदी र शाहीले जनही ८२ हजार ७१८ रुपैयाँ २५ पैसाका दरले बिगो बेहोर्नुपर्ने अदालतले ठहर गरेको छ।
यसअनुसार सुवेदी र शाहीको हकमा जनही ८ लाख ८३ हजार ४१४ रुपैयाँ ९१ पैसा तथा मगरको हकमा ८ लाख ६९६ रुपैयाँ ६६ पैसा विगो कायम गरिएको हो।
फैसलाअनुसार सुवेदी र शाहीलाई जनही ८ लाख ८३ हजार ४१४ रुपैयाँ ९१ पैसा जरिवाना गरी सोही बराबरको विगो रकम असुल गर्न आदेश दिइएको छ भने मगरलाई ८ लाख ६९६ रुपैयाँ ६६ पैसा जरिवाना तथा त्यत्तिकै विगो असुल गर्नुपर्ने ठहर गरिएको छ।
अदालतले उनीहरूको कसुर भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधनसहित) को दफा ३९ (१०) को देहाय (घ) अन्तर्गत पर्ने ठहर गरेको जनाएको छ।