आयोगका अनुसार दलहरूले पुस १३ र १४ गते आयोगमा पेस गरेको बन्दसूचीको प्रारम्भिक छानबिनपछि पुस १५ गते सच्याउनका लागि सम्बन्धित दलहरूलाई औपचारिक रूपमा सूचित गरिएको थियो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सात दिनको अवधिमा बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारले दलमार्फत आयोगमा निवेदन दिन सक्ने जानकारी दिए।
उम्मेदवारको नाम फिर्ता लिन पुस २८ गतेभित्र निवेदन दिनुपर्नेछ भने पुस २९ गते आयोगले नाम फिर्ता भएका उम्मेदवारहरूको विवरण सम्बन्धित दलहरूलाई जानकारी गराउनेछ। फिर्ता गरिएका नामको स्थानमा सोही समूहका अन्य योग्य उम्मेदवारलाई मनोनयन गरी कात्तिक ३० गतेभित्र नामावली आयोगमा पेस गर्नुपर्ने कार्यतालिका छ।
आयोगले माघ ४ गते संशोधित उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गर्नेछ। माघ ५ देखि १० गतेसम्म बन्दसूचीमा समावेश उम्मेदवारहरूको योग्यता सम्बन्धमा दाबी–विरोधका निवेदन दिन सकिनेछ। प्राप्त उजुरीमाथि माघ ११ देखि १७ गतेसम्म छानबिन गरी निर्णय गरिनेछ।
यसैगरी माघ १९ गते बन्दसूचीबाट हटाइएका उम्मेदवारहरूको सूचना प्रकाशन गरिनेछ भने माघ २० गते समानुपातिकतर्फका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने आयोगले जनाएको छ।