• Tuesday, March 3, 2026

क्लाउडफ्लेयरको आउटेजले एक्स , च्याटजीपीटीसहित विश्वभरका धेरै वेबसाइटहरू अवरुद्ध



काठमाडौं – विश्वव्यापी इन्टरनेट पूर्वाधार कम्पनी क्लाउडफ्लेयरमा आएको ठूलो प्राविधिक समस्या (आउटेज) का कारण मंगलबार बिहानदेखि एक्स (पूर्व ट्विटर), च्याटजीपीटी, स्पटिफाई, क्यानभा, ग्रिन्डर लगायतका हजारौं लोकप्रिय वेबसाइट र एपहरू केही समयका लागि अवरुद्ध भएका छन्। यो समस्या युटीसी समय अनुसार बिहान ११:२० बजेपछि सुरु भएको हो, जसले विश्वभरका लाखौं प्रयोगकर्तालाई असर गरेको छ।

क्लाउडफ्लेयरले आफ्नो स्टाटस पेजमा जारी गरेको अपडेटमा भनेको छ, “हामीले क्लाउडफ्लेयरको एक सेवामा असामान्य ट्राफिकको स्पाइक देखेका छौं, जसले नेटवर्कबाट गुज्रने ट्राफिकमा एरर निम्त्याएको छ। हामी सबै टिम परिचालन गरेर समस्या समाधान गर्दैछौं।” कम्पनीले कारण अझै पत्ता नलागेको बताए पनि सेवाहरू क्रमशः रिकभर भइरहेको र केही ग्राहकहरूलाई अझै उच्च एरर रेट देखिन सक्ने जनाएको छ।यो आउटेजले विशेष गरी क्लाउडफ्लेयरको सेवा प्रयोग गर्ने ठूला प्लेटफर्महरूलाई प्रभावित बनाएको छ। एक्समा प्रयोगकर्ताहरूले “इन्टरनल सर्भर एरर” सन्देश देखेका थिए भने च्याटजीपीटीमा “प्लिज अनब्लक च्यालेन्जेस क्लाउडफ्लेयर डटकम टु प्रोसिड” जस्ता मेसेज आएका थिए। डाउनडिटेक्टर जस्तो आउटेज ट्र्याक गर्ने साइट आफैं प्रभावित भएर केही समय डाउन भएको थियो। अन्य प्रभावित सेवाहरूमा लिग अफ लेजेन्ड्स जस्ता अनलाइन गेम, अमेजन, पेपाल आदि पनि छन्।क्लाउडफ्लेयर विश्वको करिब २० प्रतिशत वेबसाइटहरूको सुरक्षा, स्पिड र डिडोस अट्याकबाट बचाउने काम गर्छ। यसले मानव र बटबीच छुट्याउने, कन्टेन्ट डेलिभरी नेटवर्क (सीडीएन) जस्ता सेवा प्रदान गर्छ। यसको समस्या हुँदा एकैपटक हजारौं साइटहरू प्रभावित हुने विज्ञहरू बताउँछन्। गत महिना अमेजन वेब सर्भिसेस (एडब्ल्यूएस) को आउटेजले पनि यस्तै समस्या निम्त्याएको थियो, जसले इन्टरनेटको कमजोर पक्ष उजागर गरेको थियो।

नेपालमा पनि यो समस्याको प्रभाव देखिएको छ। नेपाली प्रयोगकर्ताहरूले एक्स, च्याटजीपीटी जस्ता प्लेटफर्ममा समस्या भएको गुनासो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। नेपाल टेलिकम, वर्ल्डलिंक जस्ता आईएसपीहरूले आफ्नो सेवा सामान्य रहेको बताए पनि क्लाउडफ्लेयरमा निर्भर साइटहरूमा ढिलो वा एरर आएको जनाएका छन्।विज्ञहरूका अनुसार यस्ता घटनाले आधुनिक इन्टरनेटको कमजोरी देखाउँछ। केही कम्पनीहरूमा अत्यधिक निर्भरता हुँदा एउटै समस्याले विश्वव्यापी असर पार्छ। क्लाउडफ्लेयरले पूर्ण रूपमा सेवा सुचारु भएको जानकारी दिए पनि केही स्थानमा अझै समस्या कायम रहेको रिपोर्टहरू आएका छन्। कम्पनीले छिट्टै पूर्ण अपडेट दिने जनाएको छ।यो घटनाले डिजिटल अर्थतन्त्र, अनलाइन शिक्षा, बैंकिङ र मनोरञ्जनमा निर्भर लाखौंलाई केही घण्टा असुविधा भएको छ। सामाजिक सञ्जालमा #CloudflareDown, #InternetDown जस्ता ह्यासट्याग ट्रेन्डिङ बनेका छन्।

Please Login to comment in the post!

you may also like