• Tuesday, March 3, 2026

नेपालको रेटिङ्:लगानीको केही जोखिम हुने तर ऋण भुक्तानीको क्षमता पर्याप्त रहेको


 काठमाडौं । नेपालले सन् २०२५ का लागि पनि फिच रेटिङ्सबाट लगातार दोस्रो वर्ष ‘बीबी माइनस’ (BB-) सोभरेन क्रेडिट रेटिङ प्राप्त गरेको छ । यो रेटिङसँगै ‘स्थिर’  आउटलुक पनि कायम रहेको छ।

पछिल्लो समय सामाजिक–राजनीतिक अस्थिरता, विनाशकारी बाढीपहिरो तथा विश्वव्यापी आर्थिक मन्दीका चुनौतीहरूका बाबजुद गत वर्षकै स्तरमा रेटिङ कायम रहनु सकारात्मक सन्देश भएको अर्थ मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले भने, “यो रेटिङले नेपालको दीर्घकालीन ऋण तिर्ने क्षमता बलियो रहेको र समष्टिगत आर्थिक स्थायित्व स्थिर रहेको पुन: अन्तर्राष्ट्रिय जगत्मा प्रमाणित भएको छ।”

चुनाव केन्द्रित खर्च बढ्न सक्ने जोखिम र राजनीतिक अनिश्चितताका बीच पनि सरकारले कायम राखेको वित्तीय अनुशासन, राजस्व परिचालनमा भएको सुधार, खर्चको सही प्राथमिकता, समयमै निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता तथा राष्ट्रिय गौरवका आयोजनाहरूलाई निरन्तरता दिने नीतिले अन्तर्राष्ट्रिय लगानीकर्ता र क्रेडिट रेटिङ एजेन्सीहरूको विश्वास कायम राख्न सफल भएको उनको भनाइ छ।

फिचका अनुसार नेपालको रेटिङलाई बलियो सार्वजनिक वित्त व्यवस्थापन, मध्यमस्तरको सरकारी ऋण अनुपात र सुधारोन्मुख शासन सूचकांकले समर्थन गरेको छ भने कमजोर प्रतिव्यक्ति आय, राजनीतिक जोखिम र जलवायु परिवर्तनजन्य प्रकोपले सीमितता थपेको उल्लेख छ।

यसअघि सन् २०२४ मा पनि फिचले नेपाललाई यही ‘बीबी माइनस’ रेटिङ दिएको थियो। ‘बीबी’ स्तरका रेटिङ भएका देशहरूमा लगानीको केही जोखिम हुने तर ऋण भुक्तानीको क्षमता पर्याप्त रहेको मानिन्छ।

Please Login to comment in the post!

you may also like