काठमाडौ - अभिव्यक्ति स्वतन्त्रताको नाममा जथाभावी बोल्ने र लेख्ने प्रवृत्ति बढ्दै गएपछि यसको सीमा र मर्यादा कायम राख्नुपर्ने आवाज उठिरहेको छ । संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक पूर्ण रूपमा असीमित होइन । यसका निश्चित सीमा र मर्यादा हुन्छन्, जसको पालना हरेक व्यक्ति, संस्था र नागरिकले गर्नैपर्छ । यस्तो मर्यादाको उल्लंघन हुन नदिन राज्यलाई नियमन गर्ने अधिकार पनि संविधानले नै दिएको छ । तर, नियमनको नाममा रातको १२–१ बजेतिर परिवारसँग सुतेको अवस्थामा सर्वसाधारण नागरिकलाई घरभित्र पसेर गिरफ्तार गर्नु भनेको लोकतान्त्रिक शासन व्यवस्थाकै ठूलो कलंक हो । पछिल्लो समय नेपालमा यस्ता घटना बारम्बार दोहोरिन थालेका छन् । सामाजिक सञ्जालमा लेखेको स्ट्याटस, बोलेको अभिव्यक्ति वा कुनै टिकाटिप्पणीका नाममा प्रहरी रातारात नागरिकको घरमा पुगेर हतकडी लगाउँदै हिरासतमा लैजाने गरेको छ । यस्तो कार्यले राज्यशक्तिको दुरुपयोग मात्र होइन, नागरिकमा त्रास र आतंक फैलाउने काम पनि गरेको छ । रातको समयमा परिवारका बालबच्चा र श्रीमान्–श्रीमतीबीच बसेको व्यक्तिलाई ब्यूँझाएर, घरको ढोका फोरेर वा झ्यालबाट पसेर गिरफ्तार गर्नु कुनै पनि हिसाबले जायज ठहरिन सक्दैन । यो त अधिनायकवादी शासनको शैली हो । प्रश्न उठ्छ– सरकारलाई यस्तो हर्कत गर्न केले बाध्य बनायो ? के अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग रोक्न रातिको समयमा आतंक मच्चाउनुबाहेक अर्को विकल्प थिएन ? के दिनको समयमा सामान्य सूचना दिएर बोलाएर कारबाही गर्न सकिँदैन थियो ? वास्तवमा सरकारको यो कदमले उसको असुरक्षा, कमजोरी र डरलाई नै उजागर गरेको छ । सत्ता टिकाउन र आलोचकहरूलाई तर्साउन राज्यशक्तिको यति सजिलै दुरुपयोग हुनु भनेको लोकतन्त्रको स्वास्थ्यका लागि अत्यन्त खतरनाक संकेत हो । अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राण हो । तर, यो स्वतन्त्रता जिम्मेवारी र मर्यादासँग जोडिएको हुन्छ । कसैले राष्ट्रियता, सामाजिक सद्भाव वा व्यक्तिको मानमर्यादामा आघात पुग्ने गरी अभिव्यक्ति दिएमा त्यसलाई कानुनी दायरामा ल्याउन सकिन्छ । तर, त्यो प्रक्रिया पनि पारदर्शी, मर्यादित र मानवीय संवेदनशीलतासाथ हुनुपर्छ । रातको निद्रामा रहेका नागरिकलाई आतंकित पारेर गिरफ्तार गर्नु कुनै पनि हालतमा स्वीकार्य हुँदैन । सरकारले यदि साँच्चै अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग रोक्न चाहन्छ भने उसले पहिला आफैं मर्यादित बन्नुपर्छ । रातिको समयमा गरिने यस्ता गिरफ्तारीले न त अपराध नियन्त्रण हुन्छ, न त समाजमा सकारात्मक सन्देश जान्छ । बरु नागरिकमा राज्यप्रति घृणा र विद्रोहको भावना बढ्छ । यो कदमले सरकार आफैं कमजोर बन्दै गएको प्रमाणित गर्छ । अन्तमा, अभिव्यक्ति स्वतन्त्रताको सीमा र मर्यादा सबैले पालना गर्नुपर्छ भन्ने कुरामा दुईमत छैन । तर, त्यसको नियमन गर्ने नाममा नागरिकमाथि रातको समयमा आतंक मच्चाउनु भनेको शासनको असफलता हो । सरकारले यस्ता हर्कत बन्द गरेर दिनको उज्यालोमा पारदर्शी ढंगले कानुनी कारबाही अघि बढाउनुपर्छ । अन्यथा यस्तै शैलीले एक दिन सिंगो प्रणालीमाथि नै प्रश्नचिह्न खडा हुनेछ ।