• Saturday, October 18, 2025

प्रधानमन्त्री ओलीको चीन भ्रमण : एससीओ शिखर सम्मेलनमा भाग लिन प्रस्थान, विमानस्थल केही समय बन्द


काठमाडौं, भदौ १४ (२०८२) – नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी चीनतर्फ उडेका हुन् । प्रधानमन्त्रीको रूपमा उनको यो दोस्रो चीन भ्रमण हो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा चीन पुगेका प्रधानमन्त्री ओली भदौ १८ गते बुधबारसम्म चीनमा रहनेछन् । उनी शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिनेछन् । भ्रमणका क्रममा उनले विभिन्न उच्चस्तरीय भेटघाट र सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण दलमा प्रधानमन्त्रीकी श्रीमती राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मा लगायत उच्च पदाधिकारीहरू समावेश छन् । एससीओ शिखर सम्मेलन भदौ १५ र १६ गते उत्तरी चीनको तियान्जिन सहरमा आयोजना हुँदैछ । सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सी चिनफिङले गर्नेछन् । सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न मुलुकका सरकार प्रमुख तथा राष्ट्रप्रमुखहरूको उपस्थिति रहनेछ ।परराष्ट्र मन्त्रालयका अनुसार, भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । यसैगरी, भदौ १७ गतेतियान्जिनमा आयोजित एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणमा उनले विभिन्न मुलुकका नेताहरूसँग भेटघाट गर्ने तथा चीनका उपराष्ट्रपति हान झेङसँग पनि छुट्टै वार्ता गर्ने तय भएको छ । यसका साथै, प्रधानमन्त्री ओली जापानी आक्रमणविरुद्ध

चीनको प्रतिरोध युद्ध तथा विश्वव्यापी फासिवादविरोधी युद्धमा विजय प्राप्तिको ८०औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनेछन् । यो कार्यक्रमले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको HIM001 चार्टर विमानबाट चीन प्रस्थान गरेका हुन् । यो विमान बिहान ७:२३ बजे उडेको थियो । विमान ३९,०००फिटको उचाइमा भारत, बंगलादेश र म्यानमार हुँदै चीनतर्फ लागेको छ । यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द गरिएको थियो । अहिले विमानस्थल सुचारु भइसकेको विमानस्थल स्रोतले जनाएको छ ।

Please Login to comment in the post!

you may also like