रत्ना भण्डारी मूल घर मंगलसेन नगरपालिका–६ की हुन् । दाजु तराई झरेपछि वैशाखदेखि श्रीमान गोरे भण्डारी र छोरीसँग माइतीघरमा बस्दै आएकी थिइन् । निम खनाल पनि केही वर्षअघि श्रीमान गुमाएकी थिइन् । उनको घर पञ्चदेवल विनायकको तिखापातल हो । परिवारका सदस्यहरू भारत बस्ने भएकाले उनी माइतीघरमै थिइन् । दुवै महिलाहरू एकै दिन महिनावारी भएपछि सँगै टहरोमा सुत्न थालेका थिए ।वडाध्यक्ष शाहीले यो घटनालाई छाउपडीको छायाँको रूपमा चित्रण गरे । उनले भने, “हामीले छाउगोठ भत्काएका थियौं, तर अन्धविश्वासले महिलाहरूलाई फेरि यस्ता जोखिममा धकेलिरहेको छ । घरभित्र सुत्दा देवता रिसाउँछन् भन्ने डर छ । सो वडामा कुइकालेदेवी मन्दिर छ, जसले गर्दा महिलाहरू महिनावारी हुँदा घरबाट टाढा रहन बाध्य छन् ।” उनले घटनापछि अभियानलाई कडाइका साथ अघि बढाउने बताए । १६ वर्षअघि पनि यसै गाउँमा छाउगोठमा निसासिएर झुमा शाहीको मृत्यु भएको उनले स्मरण गरे ।अछाममा छाउपडीविरुद्ध अभियान चलिरहेकै बेला यो घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी ओमप्रकाश खनालका अनुसार, बिहीबार मात्र मेल्लेख गाउँपालिकामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । पञ्चदेवल विनायक–४ मा पनि मेयरसहित जनप्रतिनिधिहरूले विद्यार्थी र अभिभावकलाई महिनावारी बार्नु कानुनी अपराध भएको जानकारी दिएका थिए । तर, अभियानकै बीचमा यो दुःखद घटना भयो । डीएसपी खनालले भने, “दिउँसो त्रिपाल नटाँगिने, तर राति सुत्न टाँगिने गरेको पाइयो । अन्धविश्वास मनबाट नहटेसम्म कानुन मात्र पर्याप्त छैन ।”
यो घटना एकल छैन । गत २८ असारमा कञ्चनपुरको कृष्णपुर–१ मा सर्पले डसेर २८ वर्षीया कमला आउजीको मृत्यु भएको थियो । २३ साउन २०८० मा बैतडीको पञ्चेश्वर–४ मा १६ वर्षीया अनिता चन्दले पनि छाउगोठमा सर्पको डसबाट ज्यान गुमाएकी थिइन् । सुदूरपश्चिम र कर्णाली प्रदेशमा यस्ता घटनाहरू बारम्बार दोहोरिन्छन् । प्रदेश प्रहरीका अनुसार, सुदूरपश्चिमका ७ जिल्लामा ७,५४५ छाउगोठ भत्काइएका छन्, जसमध्ये अछाममा सबैभन्दा बढी ५,८१३ । बाजुरामा ५५७, डोटीमा ३९३, कैलालीमा ३८६, डडेल्धुरामा २३, कञ्चनपुरमा २३० र बैतडीमा १४३ छन् ।सरकारले छाउपडी उन्मूलनका लागि अभियान चलाए पनि सार्थकता पाएको छैन । मुलुकी अपराध संहिता २०७४ को दफा १६८ (३) मा छाउपडीमा राख्न वा भेदभाव गर्नेलाई ३ महिनासम्म कैद वा ३ हजार जरिवाना हुने व्यवस्था छ । सार्वजनिक पदाधिकारीलाई दोब्बर सजाय र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ । तर, समाजमा जरा गाडेको यो कुप्रथा कानुनले मात्र हट्ने छैन ।
यो घटनाले महिलाहरूको अधिकार र स्वास्थ्यमा ध्यान दिनुपर्ने आवश्यकता उजागर गरेको छ । सचेतना, शिक्षा र सामुदायिक सहभागिताबाट मात्र छाउपडी जस्ता कुरीतिहरू हट्न सक्छन् । अन्यथा, अछाम जस्ता दुर्गम क्षेत्रमा महिलाहरूले अकालमै ज्यान गुमाइरहनेछन् । अब अभियानलाई मात्र होइन, मानिसहरूको सोच परिवर्तन गर्ने दिशामा जोड दिनुपर्छ ।