• Wednesday, March 4, 2026

चक्रवात ‘मोन्था’को प्रभावः देशभर मध्यम वर्षा, शुक्रबार ठूलो वर्षाको सम्भावना


बंगालको खाडीमा बनेको चक्रवात ‘मोन्था’ नेपालको मध्य भागमा न्यूनचापीय क्षेत्रका रूपमा प्रवेश गरेपछि देशका अधिकांश स्थानमा मध्यम वर्षा भइरहेको छ। मंगलबार राति भारतको आन्ध्र प्रदेशमा ल्याण्डफल गरेको यो प्रणाली उत्तर–पश्चिम दिशातर्फ सर्दै बुधबार नेपाल भित्रिएको हो।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही जिल्लामा निरन्तर वर्षा भइरहेको छ भने काठमाडौं उपत्यकासहित बिहीबार बिहानैदेखि पानी परिरहेको मौसमविद् विनोद पोखरेलले बताए। उनले आगामी २४ घन्टासम्म वर्षा जारी रहने अनुमान गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार शुक्रबार बिहीबारभन्दा ठूलो वर्षा हुने सम्भावना छ। विशेषगरी कोशीको तराई, मधेश र बागमतीका केही स्थानमा भारी वर्षा तथा कोशी र बागमतीका हिमाली क्षेत्रमा बाक्लो हिमपात हुने आकलन छ।

चक्रवातको प्रभावले कोशी, बागमती, गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यम हिमपात र कर्णालीका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनीको पश्चिमी भाग, कर्णाली र सुदूरपश्चिममा भने चक्रवातको असर नपर्ने तर पश्चिमी वायुका कारण बादल लाग्ने र हल्का वर्षा हुने अनुमान छ।

शनिबार बिहानसम्म वर्षा कायम रहने र दिउँसोदेखि मौसममा क्रमिक सुधार आउने मौसमविद्हरूको भनाइ छ।

Please Login to comment in the post!

you may also like