भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १७ वर्षीया निकिता गौतमको मृत्यु भएको छ। चितवनको कालिका–८ घर भई काठमाडौं बस्दै आएकी गौतमको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको हो। अस्पतालका अनुसार उनीसहित प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका ३४ जनाको पोस्टमार्टम गरिएको छ।
फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार सबै मृतकलाई ‘हाई भेलोसिटी फायर आर्म’ अर्थात उच्च गतिको बन्दुकबाट गोली प्रहार गरिएको प्रमाण भेटिएको छ। पोस्टमार्टम रिपोर्टमा काठमाडौँका बानेश्वर, कालीमाटी, महाराजगञ्ज र गौशाला क्षेत्रमा गोली लागेर मृत्यु भएका मध्ये ११ जनाको टाउकोमा, १६ जनाको छातीमा, ४ जनाको पेटमा र ३ जनाको घाँटीमा गोली लागेको देखिएको छ। सबैलाई कम्मरमाथि गोली प्रहार गरिएको रिपोर्टमा उल्लेख छ।डा. चौधरीका अनुसार ती सबै गोलीहरू इन्सास र एसएलआर जस्ता उच्च गतिको राइफलबाट हानिएको हुन्। यस्तो हतियारबाट निस्किने गोली प्रतिसेकेन्ड एक हजार मिटरभन्दा बढी गतिमा जाने बताइएको छ। फरेन्सिक अध्ययनले देखाएको छ कि सबै मृतकलाई करिब १ मिटर वा त्यसभन्दा टाढाबाट गोली प्रहार गरिएको थियो।
यसैबीच, त्रिवि शिक्षण अस्पतालमा जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका ४९ जनाको पोस्टमार्टम गरिएको छ। तीमध्ये महाराजगञ्ज र कोटेश्वरमा मारिएका ३ जना प्रहरीको मृत्यु भने ‘ब्लन्ट फोर्स इन्जुरी’ — बलियो चोटका कारण भएको पाइएको छ। त्यस्तै, हायात होटलमा मृत्यु भएकी विदेशी महिलाको पनि मृत्यु त्यही कारणले भएको फरेन्सिक रिपोर्टमा उल्लेख छ।बौद्धस्थित भाटभटेनीमा मृत भेटिएका ७ जनाको भने पहिचान खुल्न बाँकी छ। ती शवहरूको डीएनए परीक्षणका लागि नमुना प्रहरी प्रयोगशालामा पठाइएको त्रिवि शिक्षण अस्पतालका डा. चौधरीले जानकारी दिए।
भदौ २३ र २४ गतेको प्रदर्शनपछि सुरक्षाकर्मीको गोलीबाट मारिएका प्रदर्शनकारीहरूको संख्या र घटनाको स्वरूपले गम्भीर प्रश्न उठाएको छ। फरेन्सिक रिपोर्टले सबैको मृत्यु उच्च क्षमताको राइफलबाट टाढाबाट प्रहार गरिएका गोलीका कारण भएको स्पष्ट पारेको छ।