• Tuesday, March 3, 2026

मुगुमा पहिलोपटक कोइकी हिमाल आरोहण, पाँच विदेशी आरोहीको सफलता


मुगु — मुगुम कार्मारोङ गाउँपालिका–२ मा अवस्थित कोइकी हिमाल पहिलो पटक सफलतापूर्वक आरोहण गरिएको छ। कात्तिक ३ गते चार अष्ट्रियाली र एक जर्मन आरोहीको टोलीले समुद्री सतहदेखि ६ हजार १६९ मिटर उचाइको सो हिमालको सफल आरोहण गरेको हो। सफल आरोहीहरूमा अष्ट्रियाका एर्विन पल विसम्यान, भ्यालेन्टिन म्याक, स्यान्द्रो फ्रान्ज कान्डुथ, ग्रेगर प्रिबर्निग र जर्मनीका स्टेफन लिब लिन्ड रहेका छन्।

गाउँकै सामुन्ने देखिने तर अहिलेसम्म कसैले पनि नचढेको सो हिमालको पहिलो सफल आरोहणको समाचारले मुगुम कार्मारोङका स्थानीय अत्यन्त उत्साहित भएका छन्। स्थानीय तुण्डुल तामाङ भन्छन्, “हामीले सधैं फेदसम्म चौँरी चराएका हौँ, तर यो हिमालमा मान्छे पुगेको कहिल्यै सुनेका थिएनौं। अब यो ठाउँमा अन्य आरोहीहरू पनि आउनेछन् भन्ने लागेको छ।”रिजन ट्रेक प्रालिको व्यवस्थापनमा सम्पन्न यो आरोहणले मुगुको पर्यटन सम्भावनालाई नयाँ उचाइमा पुर्‍याएको स्थानीय पूर्व वडाध्यक्ष कार्मा तामाङको भनाइ छ। “कोइकी हिमालको सफल आरोहणले मुगु मात्र होइन, देशकै पर्यटन सम्भावना उजागर गरेको छ। अब सरकारले यस क्षेत्रको प्रचार–प्रसारमा ध्यान दिनुपर्छ,” उनले भने।सफल आरोहीमध्ये २८ वर्षीय अष्ट्रियाली सेन्द्रोकका अनुसार, उनले विश्वका धेरै हिमाल चढेका भए पनि कोइकी हिमालमा पुगेपछि उनले फरक र विशिष्ट अनुभव गरेका छन्। उनले भने, “यो हिमाल सफा, शान्त र अत्यन्त सुन्दर छ। यहाँको प्राकृतिक शुद्धता र स्थानीयको माया अविस्मरणीय छ। म फर्केर साथीहरूलाई पनि यो हिमाल चढ्न प्रेरित गर्नेछु।”रिजन ट्रेक प्रालिका पथप्रदर्शक पासाङ शेर्पाका अनुसार, आरोहणका क्रममा कुनै ठूलो कठिनाइ नभएको र मौसम अत्यन्त अनुकूल रहेको थियो। “बाटो रमाइलो, दृश्य अद्भुत र यात्रा सहज रह्यो। विदेशी आरोहीहरू अत्यन्त उत्साहित थिए र फर्कँदा पनि फेरि आउने प्रतिवद्धता व्यक्त गरे,” उनले भने।पर्यटन व्यवसायी राजु कार्कीका अनुसार, पहिलो सफल आरोहणले कोइकी हिमाल अब मुगुको पर्यटनको अर्को आकर्षण बन्ने सम्भावना बलियो बनाएको छ। उनले भने, “यदि प्रचार–प्रसारमा जोड दिइयो भने यो हिमाल भविष्यमा अन्तर्राष्ट्रिय आरोहीहरूको गन्तव्य बन्न सक्छ।”

कोइकी हिमाल पुग्ने बाटो
हवाई वा स्थलमार्ग दुबैबाट कोइकी हिमाल पुग्न सकिन्छ। हवाई मार्गबाट नेपालगञ्ज हुँदै रारा विमानस्थलसम्म करिब ३५ मिनेटमा पुग्न सकिन्छ। त्यहाँबाट १५–२० मिनेटको जीप यात्रामा मुगुको सदरमुकाम गमगढी पुगिन्छ।स्थलमार्ग रोज्नेहरूले नेपालगञ्ज वा कोहलपुरबाट बसमार्फत सुर्खेत, दैलेख, कालीकोट हुँदै पहिलो दिन मान्म वा नाग्मा पुग्न सक्छन्। दोस्रो दिन बिहानै हिँडेर जुम्लाको गोठी ज्युला वा बुलबुले हुँदै दिउँसो गमगढी आइपुगिन्छ।त्यसपछि एक रात गमगढीमा बास बसेर भोलिपल्ट मुगुम कार्मारोङ गाउँपालिकाको छायल बजार, माग्री गाउँ र ढुंगेधारा बजार हुँदै रिउस बगर, पुलु बजार, लादेगाड, चिताई बगर पार गर्दै तेस्रो दिन साँझ मुगुम गाउँ पुगिन्छ। चौथो दिन बिहानै मुगुम गाउँको पाटन क्षेत्र हुँदै पाँचौं दिनको यात्रामा ४ हजार ६०० मिटर उचाइमा रहेको कोइकी हिमालको आधारशिविर पुग्न सकिन्छ।यो सफल आरोहणसँगै मुगुको कोइकी हिमाल अब नेपालका नयाँ आरोहण गन्तव्यहरूमा स्थापित हुने अपेक्षा गरिएको छ।

Please Login to comment in the post!

you may also like