• Wednesday, March 4, 2026

मुस्ताङमा तीन बेलायती महिला पर्यटकसहित १२ जना सम्पर्कविहीन, गोरखामा ६ जना उद्धारको पर्खाइमा


सोमबारदेखि भइरहेको लगातार वर्षा र हिमपातका कारण हिमाली जिल्लाहरू मुस्ताङ र गोरखामा पर्यटक तथा सहयोगीहरू जोखिममा परेका छन्। मुस्ताङमा तीन बेलायती महिला पर्यटकसहित १२ जना नेपाली सम्पर्कविहीन भएका छन् भने गोरखामा तीन नेपाली र तीन विदेशी गरी ६ जना उद्धारको पर्खाइमा छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डिएसपी छिरिङ किप्पा लामाका अनुसार तीन बेलायती महिला पर्यटक र उनीहरूसँग गएका गाइड, भरिया र सहयोगीहरू बुधबार बिहान ११:३० बजेदेखि सम्पर्कविहीन भएका हुन्। उनीहरू धौलागिरि हिमाल सर्किटबाट फर्किँदै गर्दा मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचे हिमाल नजिक ‘हिडन भ्याली’ क्षेत्रमा हराएका हुन्।डिएसपी लामाले बताएअनुसार सोमबारदेखि लगातार हिमपातका कारण त्यस क्षेत्रमा मोबाइल र इन्टरनेट सेवा पूर्णरूपमा अवरुद्ध भएको छ। टोलीसँग रहेको ट्राभल एजेन्सीको सेट फोनबाट बुधबार बिहानसम्म सम्पर्क भएको भए पनि त्यसपछि कुनै जानकारी प्राप्त हुन सकेको छैन।

काठमाडौँस्थित सेक्रेट हिमालय ट्रेक एण्ड एक्स्पिडिसन एजेन्सीमार्फत गएका उनीहरू धौलागिरि हिमालको आधार क्षेत्र हुँदै मुस्ताङ प्रवेश गर्ने क्रममा हिउँमा फसेका थिए। उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ, तर भीषण हिमपात र पाँच फिटभन्दा अग्लो हिउँका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको अधिकारीहरूले जनाएका छन्।मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार स्थलमार्गबाट उद्धार टोली पठाइएको छ र मौसम अनुकूल भए बिहीबार हेलिकोप्टरमार्फत हवाई उद्धार गरिने योजना छ। उनका अनुसार टोलीको पहुँच ‘हिडन भ्याली’ क्षेत्रसम्म पुग्न दुई दिन लाग्ने अनुमान गरिएको छ। अन्य पर्यटकहरू भने सुरक्षित स्थानमा रहेको जानकारी उनले दिए।यस्तै, गोरखा जिल्लाको चुमनुब्री गाउँपालिकास्थित पाङबारी क्षेत्रमा तीन नेपाली र तीन इटालियन नागरिक अप्ठ्यारो अवस्थामा फसेका छन्। जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार उनीहरू हाल सुरक्षित तवरले बसिरहेका छन् तर खराब मौसमका कारण उद्धार गर्न कठिनाइ भइरहेको छ। बुधबार उद्धार प्रयास भए पनि मौसमका कारण हेलिकोप्टर उड्न नसकेकाले बिहीबार पुनः प्रयास गरिने उनले बताए।मनाङ र म्याग्दी जिल्लाबाट पनि पर्यटकहरूलाई तल झार्ने काम भइरहेको प्रहरीले जनाएको छ। मनाङका सूचना अधिकारी मनोज बस्नेतका अनुसार तिलिचो ताल क्षेत्रका अधिकांश पर्यटकहरू तल झरेका छन् र झन्डै ४०० जना बुधबार मात्र सुरक्षित स्थानमा आइपुगेका छन्।

म्याग्दीमा अन्नपूर्ण आधार शिविर नर्थतर्फ गएका सबै पर्यटकहरू पनि सुरक्षित रूपमा तल फर्किएको प्रहरीले जनाएको छ।अहिले हिमाली क्षेत्रमा हिउँको स्तर असामान्य रूपमा बढेको र हिमपात अझै जारी रहेकाले उद्धार टोली सतर्कतासाथ अघि बढिरहेको जनाइएको छ। अधिकारीहरूका अनुसार खराब मौसमले चुनौती उत्पन्न गरे पनि सम्पर्कविहीन र फसेका सबैको उद्धारका लागि प्रयास निरन्तर जारी छ।

Please Login to comment in the post!

you may also like