काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको विभाजनले आगामी निर्वाचनमा कुनै असर नपर्ने दाबी गरेका छन्।
चितवनमा भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले कांग्रेस विभाजनपछि निर्वाचन प्रभावित हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको उल्लेख गरे। तर सरकारका प्रतिनिधि, निर्वाचन आयोग तथा सुरक्षा निकायसँगको छलफलबाट निर्वाचनमा कुनै असर नपर्ने निष्कर्षमा पुगेको उनको भनाइ थियो।
निर्वाचनको मुखमा ठूलो पार्टी विभाजन हुनु कसैका लागि पनि राम्रो नभएको बताउँदै प्रचण्डले सबै राजनीतिक दलहरू निर्वाचनतर्फ केन्द्रित भएकाले चुनाव तोकिएकै समयमा हुनेमा ढुक्क हुन आग्रह गरे।
उनले नेकपाले आफ्नो दलको तर्फबाट प्रत्यक्षतर्फका उम्मेदवारको टिकट वितरण प्रक्रिया सुरु गरिसकेको जानकारी समेत दिए।