काठमाडौ । नेकपा एमालेको आसन्न ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि ओखलढुङ्गाका चर्चित एवं लोकप्रिय नेता अम्बिरबाबु गुरुङले उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पुगेर गुरुङले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।एमालेका पुराना र कर्मठ नेताका रूपमा परिचित गुरुङ यसअघि एक नम्बर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री हुँदा आफ्नो कार्यक्षमता र विकासप्रेमी छविका कारण प्रदेशभरि नै चर्चित भएका थिए। उनले मन्त्री भएकै छोटो अवधिमा ओखलढुङ्गा र सिङ्गो प्रदेशका दर्जनौं सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार आयोजनालाई तीव्रता दिएका थिए। विशेषगरी रुम्जाटार–घुर्मी सडक कालोपत्रे, सिद्धिचरण लोकमार्ग स्तरोन्नति, हलेसी–दिक्तेल सडक विस्तार, मानेभञ्ज्याङ–रामेछाप जोड्ने पुल निर्माणजस्ता आयोजनामा उनको नेतृत्व निर्णायक बनेको थियो।
स्थानीय तहका जनप्रतिनिधिदेखि साधारण कार्यकर्तासम्मले “अम्बिरबाबुले जे भन्छन्, त्यो गर्छन्” भन्ने विश्वास कमाएका गुरुङले मन्त्री पदबाट राजीनामा दिएपछि पनि जिल्लामा निरन्तर जनसेवा र पार्टी सङ्गठन विस्तारमा खटिँदै आएका छन्। २०७४ को प्रदेशसभा निर्वाचनमा ओखलढुङ्गा (१) बाट भारी मतले विजयी भएका उनी २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका थिए।उनको उम्मेदवारीलाई ओखलढुङ्गा र सिङ्गो कोशी प्रदेशका एमाले कार्यकर्ताले “विकासको निरन्तरता र पार्टीमा योग्य नेतृत्वको सुनिश्चितता” का रूपमा लिएका छन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले भने, “मेरो राजनीतिक जीवन जनताको सेवामा समर्पित छ। केन्द्रीय सदस्य बनेर पार्टी नीति निर्माणमा योगदान दिन र ओखलढुङ्गालगायत कोशी प्रदेशको विकासलाई राष्ट्रिय प्राथमिकतामा राख्न चाहन्छु। स्वर्गीय नेता कमरेड मदन भण्डारी ले देखाउनुभएको समृद्ध नेपालको सपनालाई साकार पार्न म सदैव कटिबद्ध छु।”ओखलढुङ्गा एमालेका जिल्ला अध्यक्ष मोहन श्रेष्ठले गुरुङको उम्मेदवारीले जिल्लाको मात्र नभई कोशी प्रदेशकै प्रतिनिधित्व बलियो हुने बताए। “अम्बिरबाबुज्यूले मन्त्री हुँदा जसरी विकासमा जोड दिनुभयो, केन्द्रमा पुगेपछि पनि उहाँले त्यही ऊर्जा देखाउनुहुनेछ भन्ने हामीलाई पूर्ण विश्वास छ,” उनले भने।यसपटक एमालेको केन्द्रीय कमिटीमा कोशी प्रदेशबाट करिब ३५ जनाको कोटा रहने अनुमान छ।
ओखलढुङ्गाबाट गुरुङसँगै अर्का युवा नेता यज्ञराज सुनुवारले पनि उम्मेदवारी दिएका छन्। तर, कार्यकर्ता तहमा गुरुङको लोकप्रियता र पूर्वमन्त्रीको अनुभवलाई लिएर उनलाई बलियो दाबेदार मानिएको छ।ओखलढुङ्गाको राजनीतिमा “काम गर्न सक्ने नेता” को छवि बनाएका अम्बिरबाबु गुरुङ यसपटक केन्द्रीय सदस्य बनेर फेरि एकपटक जिल्ला र प्रदेशको विकासमा ठूलो योगदान दिने अपेक्षासहित कार्यकर्ता पङ्क्तिमा उत्साह छाएको छ।