काठमाडौं। स्वास्थ्य संस्थाका नाममा उपलब्ध गराइएका एम्बुलेन्सहरू अस्पताल वा स्वास्थ्य सेवाका लागि प्रयोग हुनुपर्नेमा अन्य कार्यमा दुरुपयोग भइरहेको गुनासो वृद्धि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कडाइका साथ निर्देशिका पालना गर्न निर्देशन दिएको छ। मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइले आज जारी गरेको सूचनामा एम्बुलेन्सको व्यापारिक उपयोग, नियमविपरीत सञ्चालन र दुरुपयोग भएको तेस्रो पक्षबाट आएका उजुरीका आधारमा गम्भीर ध्यानाकर्षण गराएको उल्लेख छ।
एम्बुलेन्स सेवा निर्देशिका, २०८२ ले एम्बुलेन्स पैठारी, राजश्व छुट, अनुमति नवीकरण, अनुगमन र अनुमति खारेजीका विषयमा स्पष्ट प्रावधान राखेकाले सबै स्वास्थ्य सेवा प्रदायक, एम्बुलेन्स सञ्चालक, व्यवस्थापन समिति तथा सुरक्षाकर्मीलाई निर्देशिका कडाइका साथ पालना गर्न आग्रह गरिएको छ।
मन्त्रालयले भारतीय दूतावासबाट आवश्यक परमिट प्राप्त गरी मापदण्ड पूरा गरेका एम्बुलेन्सलाई मात्र भारत–नेपाल आवतजावतको अनुमति दिने जनाएको छ। त्यस्तै, १० वर्षभन्दा बढी सञ्चालनमा रहेका एम्बुलेन्सहरूको दर्ता र सञ्चालन अनुमति खारेज गर्न सकिने व्यवस्था पनि निर्देशिकामा समावेश रहेको मन्त्रालयले स्मरण गराएको छ।
मन्त्रालयले दुरुपयोग रोक्न कडा अनुगमन गरिने र नियम उल्लङ्घन गर्ने विरुद्ध कानुनी कारबाहीदेखि अनुमति खारेजीसम्मका कदम चालिने चेतावनी दिएको छ।