• Thursday, March 5, 2026

बागलुङमा १० सडक स्तरोन्नति र कालोपत्र सुरु, दुई निर्वाचन क्षेत्रका रणनीतिक सडक प्राथमिकतामा


बागलुङ। यस वर्ष बागलुङ जिल्लामा १० वटा सडक स्तरोन्नति तथा कालोपत्रको काम सुरु गरिएको छ। सङ्घीय सरकारले विनियोजन गरेको बजेटबाट दुई निर्वाचन क्षेत्र रणनीतिक सडकसहित १० वटा सडकको स्तरोन्नति तथा कालोपत्रको काम अघि बढाइएको हो।

सडक डिभिजन कार्यालय बागलुङमार्फत निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत अदालतचौपारी–सिगाना र निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत हरिचौर–पाण्डवखानी सडक कालोपत्र गरिने छ। सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरिप्रसाद सुवेदीका अनुसार दुई निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि छ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

सात किलोमिटर लामो अदालतचौपारी–सिगाना सडकको कालोपत्र सम्पन्न भइसकेको भए पनि भुक्तानी बाँकी रहेको प्रमुख सुवेदीले जानकारी दिए। यस्तै आठ किलोमिटर दूरीको हरिचौर–पाण्डवखानी सडक ढलान तथा कालोपत्रका लागि ठेक्का सम्झौता सम्पन्न भइसकेको छ।

अन्य आठ वटा वडा सहायक सडकको स्तरोन्नतिका लागि पनि ठेक्का प्रक्रिया अघि बढाइएको छ। निसीखोला र ढोरपाटन नगरपालिका जोड्ने पाखुते–झिम्पा सडक एक करोड ५८ लाख रुपैयाँमा स्तरोन्नति गर्न ठेक्का प्रक्रियामा गएको छ। काठेखोला गाउँपालिकास्थित अक्षेते–मूल्यना सडक दुई करोड ११ लाख रुपैयाँमा स्तरोन्नति हुँदैछ भने बडिगाड गाउँपालिकाको रणसिंहकिटेनी–रमुवा सडक एक करोड ३२ लाख रुपैयाँको लागतमा स्तरोन्नति गरिनेछ।

यसैगरी जैमिनी नगरपालिकाको दरौदी–सुन्तलाचौर सडक दुई करोड ४३ लाख, बागलुङ नगरपालिकाको डाँडाथर–स्यालेपाखा सडक दुई करोड १७ लाख, काठेखोला गाउँपालिकाको मङ्गलीखोला–धम्जा–बेलढुङ्गा सडक दुई करोड ४४ लाख र रातामाटा सडक दुई करोड २५ लाख रुपैयाँको लागतमा स्तरोन्नति गरिने प्रमुख सुवेदीले बताए। यी सबै योजनाको ठेक्का प्रक्रिया पूरा भइसकेको र केही दिनमै निर्माण कार्य सुरु हुने उनले जानकारी दिए।

उनका अनुसार यस वर्ष विनियोजन भएर आएको बजेटमा केही कटौती भए पनि योजनाहरू भने घटेका छैनन्। ‘पर्याप्त बजेट नभए पनि सबै योजनाको काम अगाडि बढ्छ,’ उनले भने, ‘ठेक्का सम्झौता भएका सडकको काम आगामी असार मसान्तसम्म सम्पन्न गरिनेछ। चिसो बढेकाले हाल कालोपत्र बाहेकका स्तरोन्नतिको काम निरन्तर हुनेछ।’

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले मङ्गलीखोला–धम्जा–बेलढुङ्गा सडकको ट्र्याक खुलेको वर्षौँ बितिसक्दा पनि स्तरोन्नति नहुँदा स्थानीयवासीले ठूलो सास्ती खेप्दै आएको बताए। गाउँपालिकाको सीमित स्रोतसाधनका कारण सडक सुधार गर्न नसकिएको अवस्थामा सङ्घीय सरकारको बजेटले यस वर्ष काम सुरु भएको उनले बताए।

‘सडक अत्यन्त जोखिमपूर्ण अवस्थामा छ। बीच भागमा ठूलो भिर भएकाले यात्रा गर्न निकै कठिन थियो,’ अध्यक्ष थापाले भने, ‘यस वर्ष बजेट परेकाले जोखिमयुक्त स्थानलाई सुरक्षित बनाइनेछ। यही सडक हुँदै पर्यटकीय क्षेत्र बेलढुङ्गा जोडिने भएकाले स्तरोन्नति पछि स्थानीय मात्र होइन, पर्यटकलाई पनि सहज हुने अपेक्षा गरिएको छ।’

Please Login to comment in the post!

you may also like