• Saturday, June 21, 2025

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द


नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ। अर्थमन्त्रायले एक सूचना जारी गर्दै बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरिएको जाकारी दिएको हो।

‘बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको समितिको असार १४ को निर्णय अनुसार बोर्डको अध्यक्षको निमित् नाम सिफारिस गर्नको लागि २०८० चैत १६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रिया रद्द गरिएको छ,’ सूचनामा भनिएको छ। 

यससँगै पुनः सुरुदेखि नयाँ प्रक्रिया थाल्नुपर्ने हुन्छ। यसअघि बोर्ड अध्यक्ष अध्यक्ष नियुक्तीका लागि सर्टलिस्टमा परेका पाँचमध्य तीन उम्मेदवार प्रस्तुति तथा अन्तर्वार्तामा उपस्थित नभएपछि त्यसको विषयमा अध्यक्ष छनौट समितिले महान्यायाधिवक्तासँग सुझाव माग गरेको थियो।


महान्यायाधिवक्ताले सोमबार आवेदन परेका ५ जनामध्येबाट ३ जना छनौट गर्न वा पुरानो प्रक्रिया रद्द गरेर नयाँ प्रक्रियामा जान सुझाव दिएको थियो। अध्यक्ष छनौट समितिले सर्ट लिष्टमा परेका पाँच जनामध्ये तीन जना दुई पटकसम्म सूचना जारी गर्दा पनि अन्तर्वार्तामा अनुपस्थित भएका थियो। यससँगै छनौट प्रक्रियामाथि नै प्रश्न उब्जिएको थियो।

अध्यक्षका लागि सर्टलिस्टमा परेका पाँचमध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठको अन्तर्वार्ता पहिलो चरणमा नै भएको थियो। तर,  बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज लिमिटेडका सीईओ कृष्णबहादुर कार्की र तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ लगातार दुई पटकसम्म अनुपस्थित भएका थिए।

कानुनी व्यवस्थाअनुसार छनौट समितिले कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद्‍मा सिफारिस गर्नुपर्ने व्यवस्था छ। सेबोन अध्यक्ष रहेका रमेशकुमार हमाल २०८० पुस २० गते आफ्नो कार्यकाल सकाएर बाहिरिएदेखि बोर्ड अध्यक्षबिहीन अवस्थामा छ।

Please Login to comment in the post!

you may also like