• Tuesday, March 3, 2026

सुनसरी गोली काण्ड: तस्करीको मुठभेड कि सुरक्षाकर्मीको लापरबाही?


सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा बिहीबार मध्यराति सशस्त्र प्रहरीको गोली लागेर एक अटो रिक्सा चालकको मृत्यु भएपछि सीमा क्षेत्रको सुरक्षा र तस्करीको 'लाइन' बारे गम्भीर प्रश्न उठेका छन्। भारतीय सीमा नाकाबाट दुईवटा अटो रिक्सा र एउटा ई-रिक्सामा अवैध सामान भित्रिँदै गरेको सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोली र तस्कर समूहबीच मुठभेड हुँदा ४५ वर्षीय विजय साहको ज्यान गएको हो। सशस्त्र प्रहरी बल कोशी प्रदेशका डीआईजी कुमार न्यौपानेका अनुसार तस्करको समूहले सुरुमा गोली चलाएपछि सुरक्षाकर्मीले आत्मरक्षाका लागि जवाफी फायर गर्दा यो दुखद घटना हुन पुगेको हो। यद्यपि, घटनास्थलबाट तस्करीका १० बोरा चिनी र दुईवटा गोलीका खोका बरामद भए पनि तस्करले प्रयोग गरेको भनिएको हतियार भने फेला पर्न सकेन, जसले सुरक्षा निकायको दाबीमाथि आशंका जन्माएको छ।

स्थानीय बासिन्दा र मृतकका आफन्तले सशस्त्र प्रहरीको दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनीहरूले यसलाई 'लेनदेनको विवादमा गरिएको हत्या' को संज्ञा दिएका छन्। स्थानीयको आरोप छ कि सशस्त्र प्रहरीले तस्करीको लाइन मिलाउन रकम माग गरेको र सो रकम नपाएपछि रिसिइबी साध्न निहत्थे चालकमाथि गोली प्रहार गरियो। अनावश्क रूपमा बल प्रयोग गरिएको र चालकको छातीमै ताकेर गोली हान्नुले नियतमाथि प्रश्न उठाएको छ। घटनापछि आक्रोशित स्थानीयले प्रदर्शन गर्दै सशस्त्र प्रहरीको बीओपी र बिटमा आक्रमण तथा तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास समेत प्रहार गर्नुपरेको थियो। सीमा मामिलाका जानकार चन्द्रकिशोरका अनुसार तराईका सीमा नाकामा सुरक्षा निकायकै मिलेमतोमा 'लाइन' खुल्ने र तस्करी हुने गरेको छ। उनका अनुसार सुरक्षा निकायले 'रेफ्री' को भूमिका खेल्ने र कुरा नमिलेको खण्डमा यस्ता मुठभेडका घटना हुने गर्छन्।

यो घटनाको अर्को विडम्बनापूर्ण पक्ष के छ भने, बुधबार मात्रै विराटनगरमा गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको थियो। गोष्ठीमा गृहमन्त्रीले नागरिकको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्ने प्रतिबद्धता जनाएको केही घण्टा बित्न नपाउँदै सुरक्षाकर्मीकै गोलीबाट नागरिकको मृत्यु हुनुले सरकारी सुरक्षा नीति र व्यवहारबीचको खाडललाई छर्लङ्ग पारेको छ। पूर्व सुरक्षा अधिकारीहरूका अनुसार सामान्य तस्करी नियन्त्रणका लागि सिधै ज्यान जाने गरी गोली चलाउनु मुर्खतापूर्ण कार्य हो। यसले कि त माथिल्लो तहबाट तस्करी नियन्त्रणमा अत्यधिक कठोर हुन निर्देशन आएको हुनुपर्छ, कि त फिल्डमा खटिएका सुरक्षाकर्मीले आवेगमा आएर शक्तिको दुरुपयोग गरेको हुनुपर्छ।

तराईको सीमामा हुने तस्करी केवल आर्थिक क्रियाकलाप मात्र नभएर यो एउटा गहिरो 'अर्थ–राजनीति' सँग जोडिएको छ। साना व्यापारीदेखि ठूला तस्करसम्मले सुरक्षा निकाय र राजनीतिक पहुँचको भरमा अवैध व्यापार गरिरहेका छन्। विश्लेषकहरूका अनुसार कहिलेकाहीँ सुरक्षा अधिकारीहरूले 'रेट' बढाउनका लागि कडाइ गर्ने रणनीति अपनाउँदा यस्ता झडपहरू निम्तिने गर्छन्। हाल सुनसरी प्रशासन र पीडित पक्षबीच ५ बुँदे सहमति भई छानबिन समिति गठन गरिएको छ। सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी मनिष थापाले छानबिनपछि मात्रै घटनाको वास्तविक तथ्य खुल्ने बताएका छन्। यद्यपि, यो घटनाले सीमा क्षेत्रमा सुरक्षाकर्मी र नागरिकबीचको सम्बन्धमा थप अविश्वास पैदा गरेको छ र तस्करीको जालोमा सुरक्षा निकायको संलग्नताका बारेमा पुनः बहस छेडेको छ।

Please Login to comment in the post!

you may also like