काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट उम्मेदवार बन्ने लगभग निश्चित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका नेताहरूलाई काठमाडौँ बोलाएर मेयर शाहले आफू झापा–५ बाट चुनाव लड्ने स्पष्ट संकेत दिएका हुन्। रास्वपा झापाका सचिव शम्भु सुस्केरा ढकालका अनुसार बालेनले उक्त क्षेत्रको राजनीतिक अवस्था, संगठनको संरचना र चुनावी सम्भावनाबारे विस्तृत जानकारी लिएका थिए।
आइतबार काठमाडौँमा भएको करिब डेढ घण्टा लामो छलफलमा झापा–५ मा प्रतिपक्षीलाई कसरी कमजोर बनाउने, संगठनलाई कसरी परिचालन गर्ने र चुनावी रणनीति कस्तो बनाउने भन्ने विषयमा केन्द्रित छलफल भएको रास्वपा झापाले जनाएको छ। झापा–५ हालसम्म नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जित्दै आएको क्षेत्र हो। छलफलका लागि काठमाडौँ पुगेका झापाका नेताहरू पार्टी कार्यालय नगई सिधै बालेनसँगको भेटमा सहभागी भएका थिए।छलफलमा झापाको संगठनात्मक सबल र दुर्बल पक्ष, चुनावी अभियान सञ्चालनको ढाँचा र स्थानीय तहमा परिचालन कसरी गर्ने भन्ने विषयमा गहन समीक्षा भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार बालेनले आफ्नो सचिवालयमार्फत झापाको राजनीतिक अवस्था पहिल्यैदेखि अध्ययन गरिरहेका थिए र थप स्पष्टताका लागि रास्वपा झापाका पदाधिकारीहरूलाई काठमाडौँ बोलाएका थिए। सचिवालयको रिपोर्ट र स्थानीय नेताहरूसँगको छलफलपछि बालेन झापा–५ बाटै चुनाव लड्ने निष्कर्षमा पुगेका छन्।
आइतबारको बैठकले माघ ६ गते झापामा र्यालीसहित उम्मेदवारी दर्ता गर्ने तयारी गर्ने निष्कर्ष निकालेको छ। त्यसअघि माघ ४ गते काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर बालेन रास्वपाको पार्टी कार्यालय जाने कार्यक्रम तय भएको छ। माघ ५ गते जनकपुरमा रास्वपा सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा सार्वजनिक भई चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। जनकपुर धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा पर्छ, जहाँबाट रास्वपाका प्रवक्ता मनिष झा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिसमा परेका छन्।बालेन झापाबाट उम्मेदवार बन्ने निश्चित भएसँगै निर्वाचन क्षेत्रका लागि कार्यालय र बसोबास व्यवस्थापनको तयारी पनि सुरु गरिएको छ। झापा क्षेत्र नम्बर–५ अन्तर्गत दमकमा चुनावी कार्यालय सञ्चालन गर्न घर खोज्ने काम भइरहेको रास्वपाले जनाएको छ। दमक क्याम्पस रोड र गोर्खा किचन क्षेत्र आसपासका केही घर निःशुल्क उपलब्ध गराउने प्रस्तावसमेत आएको बताइएको छ। रास्वपा झापाका अध्यक्ष प्रकाश पाठकका अनुसार बालेनको टिम र स्थानीय नेताहरूले दुई वटा घरको स्थल निरीक्षण गरिसकेका छन् र तीमध्ये एउटालाई कार्यालयका रूपमा प्रयोग गर्ने निर्णय चाँडै हुने छ।
झापा–५ बाट उम्मेदवार बने पनि बालेनको राजनीतिक गतिविधि त्यही क्षेत्रमा मात्र सीमित नहुने रास्वपाले जनाएको छ। उनको उपस्थितिलाई कोसी प्रदेशभर उपयोग गर्ने रणनीति बनाइएको छ। झापा, मोरङ, सुनसरी, इलामलगायतका जिल्लामा सक्रिय कार्यक्रम र जनसम्पर्क अभियान बढाउने तयारी भइरहेको स्रोतले जनाएको छ। रास्वपाका वरिष्ठ नेतामा मनोनीत भएका बालेनले दलको नेताको रूपमा शपथ लिएलगत्तै अभियानमा सक्रिय हुने नेताहरूको दाबी छ।माघ ४ गते पदबाट राजीनामा दिएपछि रास्वपा संसदीय दलको शपथ लिएर माघ ६ गते उम्मेदवारी दर्ताका लागि झापा आउने सन्देश स्थानीय नेताहरूले पाएका छन्। बालेन शाह उम्मेदवारका रूपमा झापा आउने निश्चित भएपछि रास्वपा झापाका कार्यकर्ता र नेताहरू उत्साहित देखिएका छन्।