• Tuesday, March 3, 2026

कांग्रेस विवाद समाधानका लागि दुवै पक्षद्वारा वार्ता समिति गठन


काठमाडौँ । नेपाली कांग्रेसमा जारी आन्तरिक विवाद समाधानका लागि संस्थापन र इतर दुवै पक्षले वार्ता समिति गठन गरेका छन्। काठमाडौँको भृकुटीमण्डपमा जारी कांग्रेस विशेष महाधिवेशनसँगै संवाद प्रक्रियालाई तीव्रता दिइएको हो।महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल गर्न सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूह र नेता डा. शेखर कोइराला नेतृत्वको इतर समूहका तर्फबाट छुट्टाछुट्टै वार्ता समिति बनाइएको छ।संस्थापन पक्षबाट बालकृष्ण खाण र रमेश लेखक तथा इतर पक्षबाट डा. मिनेन्द्र रिजाल र सहमहामन्त्री जीवन परियार वार्ता समितिमा सदस्य रहेका छन्। यसअघि विशेष महाधिवेशन पक्षधरहरूले केन्द्रीय सदस्य प्रदीप पौडेल र मधु आचार्यसहितको समिति बनाएका थिए। दुवै समितिबीच छलफल सुरु हुने नेताहरूले बताएका छन्।यसैबीच, कांग्रेस विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र आज बिहान ९ बजेदेखि पुनः सुरु हुने भएको छ। पुस २७ र २८ गतेका लागि तय गरिएको महाधिवेशन समय अभावका कारण लम्बिएको हो। विभिन्न प्रतिवेदनमाथिको छलफल लम्बिँदा कार्यतालिका संशोधन गर्नुपरेको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ। आज पनि महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया जारी रहनेछ।

अर्कोतर्फ, नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले कांग्रेस विशेष महाधिवेशनमा प्रस्तुत केही दस्तावेज र अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठाएका छन्। गगन थापाको नाम नलिइकन उनले संविधान र राष्ट्रियतामाथि भएको आक्रमणलाई जायज ठहर्‍याउने प्रयास खतरनाक हुने टिप्पणी गरेका छन्।ज्ञवालीले भदौ २४ गते भएको हिंसा र विध्वंसप्रति कांग्रेस नेतृत्वले देखाएको मौनता चिन्ताजनक रहेको उल्लेख गर्दै, त्यसलाई असन्तुष्टिको नाममा正 ठहर्‍याइए लोकतन्त्रका लागि गम्भीर असर पर्ने चेतावनी दिएका छन्।

यता, कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पनि आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन निर्देशन दिइएको छ। विशेष महाधिवेशन र पार्टीभित्रको विवाद समाधान बैठकको मुख्य एजेन्डा रहने जनाइएको छ।

Please Login to comment in the post!

you may also like