प्रधानमन्त्री कार्कीले नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराँती नेतृत्वको प्रतिनिधिमण्डलसँग शुक्रबार सिंहदरबारमा भएको भेटमा सरकार काममा केन्द्रित रहेको र कुनै पनि बहानामा पछि नहट्ने स्पष्ट वक्तव्य दिइन्।‘हामी काम गर्न नै आएका हौँ। जे सकिन्छ, गरिरहेका छौँ। युवाले बलिदानी दिएर उठाएको विद्रोहको मर्मअनुसार परिणाम देखाउनै छ। पन्छिने छुट छैन, हामी रोकिँदैनौँ,’ प्रधानमन्त्री कार्कीले भनिन्।
उनका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायहरूले हालै भ्रष्टाचारविरुद्धको कदमलाई तीव्रता दिएका छन्। ‘तपाईंहरूले समाचारमै देखिरहनुभएको छ—ठूला भ्रष्टाचारका मुद्दा र प्रभावशाली व्यक्तिसँग जोडिएका काण्डमा सम्बद्ध निकाय अगाडि बढिरहेका छन्,’ उनले भनिन्।प्रधानमन्त्रीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठन गर्नुपर्ने मागबारे पनि स्पष्ट धारणा व्यक्त गरिन्। ‘हाम्रो देशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्युरो जस्ता संरचना छन्। विगतमा ती निकायमा राजनीतिक हस्तक्षेप हुन सक्छ, तर अब हामीले कुनै दबाब दिँदैनौँ। उनीहरूले पूर्ण स्वतन्त्रतासाथ काम गर्नुपर्छ,’ उनकी भनाइ थियो। उनका अनुसार समानान्तर निकाय थप्दैमा परिणाम नआउने भएकाले प्रभावकारी कार्य वातावरण बनाउनु नै अहिलेको आवश्यकता हो।
देशको समग्र प्रगतिमा अत्यधिक दलीयकरण प्रमुख बाधक बनेको उल्लेख गर्दै उनले कृषि, व्यवसाय, सहुलियत सेवा, ऋणजस्ता क्षेत्रमा समेत पार्टीगत हस्तक्षेपले किसान र उद्यमी मारमा परेको उदाहरण दिइन्। ‘किसानका नाममा राजनीति भयो—किसान मल पाउँदैन, तर किसानका नेता देश–विदेश घुमिरहन्छ। सहुलियतको मल, बिउ, ऋणसमेत उसैले एकलौटी गर्छ। आफ्नै पेसा–व्यवसाय छाडेर नेतागिरी गर्ने प्रवृत्तिमै भ्रष्टाचारको जड छ,’ प्रधानमन्त्री कार्कीले टिप्पणी गरिन्।यस्तो अवस्थाबाट मुक्ति पाउन युवाको भूमिकालाई महत्त्वपूर्ण बताउँदै उनले आगामी चुनावमा युवालाई संसदमा पठाएर परिवर्तनलाई संस्थागत गर्नुपर्नेमा जोड दिइन्।भेटका क्रममा नेता सुदन किराँतीसहित प्रतिनिधिमण्डलका सदस्यले जेन–जी आन्दोलनमा संलग्न युवामाथि प्रहरी कारबाही बढिरहेको र केही दलहरूले खुलेर गुन्डा परिचालन गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए।