अमेरिकी प्रशासनले नेपालमा हुन लागेको संसदीय निर्वाचन शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै जसले जिते पनि आगामी सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ। दक्षिण तथा मध्य एसियाली मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री पल कपुर ले अमेरिकी प्रतिनिधिसभाको अमेरिकी प्रतिनिधिसभाको विदेश मामिला समितिअन्तर्गतको दक्षिण तथा मध्य एसिया उपसमिति समक्ष दिएको बयानमा नेपालमा विश्वसनीय र शान्तिपूर्ण निर्वाचन प्रक्रिया हुने अपेक्षा व्यक्त गरेका हुन्।
गत वर्ष फागुनमा डोनाल्ड ट्रंप ले दक्षिण एसियाली सुरक्षा विज्ञ कपूरलाई उक्त पदमा नियुक्त गरेका थिए। नियुक्तिको एक वर्षपछि वाशिङ्टनमा आयोजित सुनुवाइमा उनले नेपाल र बंगलादेश लगायत दक्षिण एसियाली देशहरूको पछिल्लो राजनीतिक अवस्थाबारे सांसदहरूलाई जानकारी गराए। उनले नेपाल र बंगलादेशमा युवाहरूको आन्दोलनपछि सरकार परिवर्तन भएको उल्लेख गर्दै यसले लोकतान्त्रिक सहभागिताको नयाँ अवसर सिर्जना गरेको बताए। बंगलादेशमा हालै निर्वाचन सम्पन्न भएको र नेपालमा आगामी मार्च ५ मा मतदान हुन लागेको जानकारी दिँदै दुवै देशमा निर्वाचन प्रक्रिया सहज रूपमा सम्पन्न हुने अपेक्षा अमेरिकाले गरेको उनले स्पष्ट पारे।सुनुवाइका क्रममा सांसदहरूले नेपाल भारत र चीनबीचको संवेदनशील भूराजनीतिक अवस्थिति भएको देश भएको उल्लेख गरेका थिए। कपूरले दक्षिण एसियामा कुनै एक शक्तिको प्रभुत्व हुन नदिनु अमेरिका को मुख्य उद्देश्य रहेको दोहोर्याउँदै यदि कुनै शत्रुतापूर्ण शक्तिले यस क्षेत्रमा वर्चस्व जमायो भने त्यसले विश्व अर्थतन्त्रमा समेत दबाब सिर्जना गर्न सक्ने चेतावनी दिए।
उनले बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र भुटानजस्ता देशहरू भौगोलिक रूपमा अत्यन्त रणनीतिक महत्वका भए पनि बाह्य दबाब र प्रभावको जोखिममा रहेको बताए। चीनको ऋणमा आधारित प्रभाव रणनीतिप्रति संकेत गर्दै साना राष्ट्रहरू ऋण जालमा फस्ने खतरा रहेको उनको भनाइ थियो।उपसमितिका अध्यक्षबिल हुइजिङ्ग्गा ले एसियामा अमेरिकाको संलग्नताले आगामी दशकहरूमा अमेरिकाको भूमिका निर्धारण गर्ने बताएका छन्। उनले चीनको बेल्ट एन्ड रोड पहलमार्फत साना राष्ट्रहरूलाई ऋणमा फसाउने रणनीति अपनाइएको आरोप लगाए। त्यस्तै डेमोक्र्याटिक पक्षका वरिष्ठ सदस्य सिड्नी काम्लागर दोग ले नेपाल र बंगलादेशका राजनीतिक परिवर्तनलाई लोकतान्त्रिक सुदृढीकरणका अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरिन्।कपूरले भारतसँगको सम्बन्धबारे पनि चर्चा गर्दै भारतको रणनीतिक स्वायत्तता अमेरिकाको हितमा रहेको बताए। उनका अनुसार स्वतन्त्र र आत्मनिर्भर भारतले इन्डो–प्यासिफिक क्षेत्रमा शक्ति सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ।
अमेरिकी पक्षले दक्षिण एसियामा व्यापार विस्तार, रक्षा सहकार्य र लक्षित लगानीलाई प्राथमिकता दिने नीति अघि सारेको छ। साथै, क्षेत्रीय साझेदारहरूको रणनीतिक क्षमता अभिवृद्धिका लागि कूटनीतिक सहयोग आवश्यक रहेको उनले बताए। अमेरिकाले हिन्द महासागर क्षेत्रलाई स्वतन्त्र र खुला राख्नु आफ्नो राष्ट्रिय तथा आर्थिक सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको स्पष्ट पार्दै दक्षिण एसियामा सुदृढ साझेदारी, आर्थिक संलग्नता र लोकतान्त्रिक मूल्यमा आधारित रणनीति आवश्यक रहेकोमा जोड दिएको छ।