नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशसभा संसदीय दलका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य राजकुमार शर्मालाई पार्टीबाट निष्कासन गरेको छ। मंगलबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय समिति, दलका सम्पूर्ण जिम्मेवारी तथा कर्णाली प्रदेश संसदीय दलको सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको हो।
कर्णाली प्रदेशसभा दलको कार्यालय, वीरेन्द्रनगरले प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै उक्त निर्णयको औपचारिक जानकारी गराएको छ। प्रमुख सचेतक कृष्णबहादुर जी.सी. द्वारा हस्ताक्षरित पत्रमा शर्माले पार्टीको नीति, सिद्धान्त, उद्देश्य र आचरणविपरीत गतिविधि गरेको तथा पार्टी विधान, २०८२ र कर्णाली प्रदेश संसदीय दलको विधान, २०८२ को प्रतिकूल कार्य गरेको उल्लेख गरिएको छ।
पत्रमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (२) र (५) अनुसार पार्टी सदस्यबाट निष्कासन भएपछि सम्बन्धित व्यक्ति प्रदेशसभा सदस्यको रूपमा कायम नरहने कानुनी व्यवस्था रहेको जनाउँदै आवश्यक प्रक्रिया अघि बढाउन प्रदेशसभा सचिवालयसँग अनुरोध गरिएको छ। साथै दफा ३४ को उपदफा (१) बमोजिम दल त्याग गरेको सूचना पनि दिइएको जनाइएको छ।
यसअघि लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) पनि पार्टीविरुद्ध बागी उम्मेदवारी दिएका कारण नेकपाबाट निष्कासित भएका थिए। दाङ क्षेत्र नम्बर १ मा पार्टीका आधिकारिक उम्मेदवार मेटमणि चौधरीविरुद्ध उम्मेदवारी दिएपछि उनलाई कारबाही गरिएको थियो। पछिल्ला निर्णयहरूले पार्टी अनुशासन उल्लंघन गर्ने नेतामाथि कडा कदम चाल्ने संकेत दिएको नेकपाले जनाएको छ।