काठमाडौं – जेन-जी आन्दोलनको क्रममा क्षति भएका सवारी साधन प्रतिस्थापन गर्न नेपाल राष्ट्र बैंकले विशेष कर्जा सुविधा प्रदान गरेको छ। बैंकले शुक्रबार परिपत्र जारी गर्दै यस्ता सवारीको मूल्यको ८० प्रतिशतसम्म ऋण दिन सकिने व्यवस्था गरेको हो।राष्ट्र बैंकको परिपत्रमा उल्लेख भएअनुसार, ‘जेन-जी आन्दोलनबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिनेछ।’
हाल सामान्य अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूले सवारी साधन खरिदका लागि अधिकतम ६० प्रतिशतसम्म मात्र ऋण दिन पाउने व्यवस्था छ। यो नियम सबै प्रयोजनका विद्युतीय सवारी र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारी खरिदमा समेत लागू हुन्छ।आन्दोलनबाट प्रभावित उद्योगी, व्यवसायी र प्रतिष्ठानहरूलाई राहत दिन राष्ट्र बैंकले यो विशेष छुट प्रदान गरेको हो। यसले क्षति भएका सवारी छिट्टै प्रतिस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।