काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारमा बढेको अत्यधिक तरलता नियन्त्रण गर्न आज बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ उठाउने भएको छ।
राष्ट्र बैंकले यसका लागि ४२ दिन अवधिको निक्षेप संकलन बोलकबोल (Deposit Collection Auction) आयोजना गर्ने जनाएको छ। बोलकबोलको समय आज दिउँसो ३ बजे तोकिएको छ।
राष्ट्र बैंकका अनुसार, बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ र अधिकतम रकम ५ करोडको गुणकमा रहनेछ। सावाँ तथा ब्याज भुक्तानी मिति आगामी मंसिर २१ गते तय गरिएको छ।
यस बोलकबोलमा ब्याजदर पनि प्रतिस्पर्धात्मक रूपमा निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्थाले एक वा बहु ब्याजदरमा बहुबोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्।