ललितपुर, २५ भदौ २०८२ – ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टर परिसरमा जेनजी पुस्ताका प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। सोमबारदेखि सुरु भएको जेनजी प्रदर्शनका क्रममा स्थिति तनावग्रस्त बन्दै गएको छ।
सोमबारको प्रदर्शनमा १९ जनाले ज्यान गुमाएका थिए भने आज (मंगलबार) बिहानैदेखि प्रदर्शन थप चर्किएको छ। प्रदर्शनकारीहरूले मन्त्री क्वार्टर परिसरमा आगजनी गरेको प्रहरी स्रोतले पुष्टि गरेको छ। आगजनीका कारण निर्माण सामग्री राखिएको अस्थायी टहरामा ठूलो क्षति पुगेको बताइएको छ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार आगजनीको घटना नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ। प्रदर्शनकारीहरूले सरकारविरुद्ध आक्रोश व्यक्त गर्दै विभिन्न माग राखेका छन्। स्थिति थप जटिल बन्न नदिन सुरक्षाकर्मीको उपस्थिति क्वार्टर परिसर र आसपासका क्षेत्रमा बाक्लो बनाइएको छ।
जेनजी पुस्ताको यो प्रदर्शनले देशभरको ध्यान खिचेको छ। सरकारले शान्तिपूर्ण तरिकाले परिस्थिति नियन्त्रण गर्न आह्वान गरेको छ, तर प्रदर्शनकारीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन्।