• Tuesday, March 3, 2026

चितवनका रुद्रकली र खगेन्द्र हात्ती उपहारस्वरूप कतार पठाइँदै


चितवन।        चितवन राष्ट्रिय निकुञ्जमा हुर्किएका रुद्रकली र खगेन्द्र नामका एक जोडी हात्ती उपहारस्वरूप कतार पठाइने भएको छ। ती हात्तीलाई सोमबार चितवनको सौराहाबाट औपचारिक रूपमा बिदाइ गरिँदैछ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अभिनास थापामगरका अनुसार ती हात्ती पुस २ गते भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई मार्ग हुँदै कतार पठाइनेछन्। आवश्यक कानुनी, प्राविधिक तथा अन्तर्राष्ट्रिय प्रक्रिया पूरा भएपछि हात्ती पठाउने तयारी अन्तिम चरणमा पुगेको निकुञ्जले जनाएको छ।२०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका रुद्रकली र खगेन्द्रलाई कतार पठाउन लागिएको हो।खगेन्द्रप्रसाद भाले हात्ती र रुद्रकली पोथी हात्ती हुन्। दुवै हात्तीको उमेर ६–६ वर्ष रहेको छ। उनीहरू चितवन राष्ट्रिय निकुञ्जको संरक्षणमा जन्मिएर हुर्किएका हुन्।निकुञ्जका अधिकारीहरूका अनुसार वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस) का मापदण्ड, स्वास्थ्य परीक्षण, ढुवानी व्यवस्थापनलगायत प्रक्रिया पूरा गर्न समय लागेका कारण हात्ती पठाउन ढिलाइ भएको हो।नेपालमा वन्यजन्तु संरक्षण सुरु भएयता विभिन्न देशलाई जनावर तथा आखेटोपहार उपहार दिने अभ्यास रहँदै आएको छ। तर उपहारस्वरूप हात्ती प्रदान गर्न लागिएको भने यो पहिलोपटक हो।

यसअघि नेपालले विभिन्न देशलाई ४७ प्रकारका वन्यजन्तु तथा आखेटोपहार उपहार दिइसकेको छ। त्यसैगरी, एक सय २० वटा घडियाल र मगर गोहीका अन्डा पनि विभिन्न देशलाई उपहारस्वरूप प्रदान गरिएको छ।सरकारले हालसम्म चीन, भारत, अमेरिका, जर्मनी, बंगलादेश, बेलायत, जापान, अस्ट्रेलियालगायत देशलाई गैंडा उपहार दिएको तथ्यांक रहेको छ।

Please Login to comment in the post!

you may also like