• Saturday, April 4, 2026

बालबालिका हत्या आरोपित ओली बचाउन एमालेको हिंसात्मक प्रदर्शन



काठमाडौं — कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक लाई पक्राउ गरेपछि नेकपा एमाले सडक आन्दोलनमा उत्रिएको छ। शनिबार दिउँसो काठमाडौंको माइतीघर मण्डला क्षेत्र तनावग्रस्त बनेको थियो।सरकारले भदौ २४ र २५ गते भएको ‘जेनजी आन्दोलन’ क्रममा भएको नाबालक हत्या र दमनको विषयमा छानबिन गर्न गठन गरिएको कार्की आयोग को प्रतिवेदनअनुसार दोषी ठहरिएका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार शनिबार बिहान ओली र लेखकलाई पक्राउ गरिएको सरकारी पक्षले जनाएको छ।

पक्राउको विरोधमा एमालेले आकस्मिक रूपमा आन्दोलन घोषणा गर्दै दिउँसो ३ बजे माइतीघरमा प्रदर्शन गर्न आफ्ना जनवर्गीय संगठनलाई निर्देशन दिएको थियो। सोही अनुसार नेता तथा कार्यकर्ताहरू माइतीघर क्षेत्रमा भेला भएका थिए। सम्भावित झडपलाई ध्यानमा राख्दै प्रहरीले प्रदर्शनअघि नै सडक पेटीमा रहेका ढुंगा र इँटा हटाएको थियो।प्रदर्शन क्रममा कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गर्दै बानेश्वरतर्फ अघि बढ्न खोजेपछि स्थिति तनावपूर्ण बनेको थियो। प्रदर्शनकारीहरू काठमाडौं जिल्ला अदालत क्षेत्रसम्म पुगेका थिए, जहाँ उनीहरूले टायर बाल्ने प्रयास गरेका थिए। तर प्रहरी टोलीले तत्काल आगो निभाएको थियो।

माइतीघर–बबरमहल–विजुलीबजार क्षेत्रमा पटक–पटक प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गरेको थियो भने प्रदर्शनकारीले ढुंगा प्रहार गरेका थिए। केही प्रदर्शनकारी सिंहदरबारतर्फ अघि बढ्न खोज्दा निषेधित क्षेत्र उल्लंघन गरेको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।एमाले नेताहरूले सरकारले राजनीतिक प्रतिशोधका आधारमा आफ्ना अध्यक्षलाई पक्राउ गरेको आरोप लगाएका छन्। पार्टीका नेताहरूका अनुसार आन्दोलन स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएको हो र यसलाई अझ सशक्त बनाइनेछ। उनीहरूले ओलीलाई तत्काल रिहा गर्न माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।

यसैबीच सरकारका प्रवक्ताले भने कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्नु सरकारको दायित्व भएको बताएका छन्। ‘कुनै व्यक्तिविशेषलाई लक्षित गरेर होइन, कानुनी प्रक्रिया अनुसार आयोगको सिफारिस कार्यान्वयन गरिएको हो,’ सरकारका प्रवक्ताले बताए।हाल पक्राउ परेका ओलीलाई त्रिवि शिक्षण अस्पताल मा राखिएको छ भने लेखकलाई प्रहरी नियन्त्रणमै राखिएको छ। सरकारले कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको जनाएको छ।

उता एमालेले भने आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएको छ। आइतबारदेखि जिल्ला तहसम्म प्रदर्शन गर्ने, प्रमुख जिल्ला अधिकारीमार्फत विरोधपत्र बुझाउने र कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने योजना पार्टीले सार्वजनिक गरेको छ।यस घटनाले देशको राजनीतिक वातावरण पुनः तातिएको छ। एकातर्फ सरकार कानुनी प्रक्रिया कार्यान्वयनको पक्षमा उभिएको छ भने अर्कोतर्फ प्रमुख प्रतिपक्षी दल एमाले सडक आन्दोलनमार्फत दबाब सिर्जना गर्ने रणनीतिमा देखिएको छ। आगामी दिनमा यस घटनाले अझ ठूलो राजनीतिक मोड लिन सक्ने संकेत देखिएको छ।

Please Login to comment in the post!

you may also like