काठमाडौं, २३ भदौ २०८२ — आज काठमाडौंमा भएको जेनेरेसन जी (जेनजी) को प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालबाट यो तथ्यांक प्राप्त भएको हो।
आज दिउँसो ३:३० बजेसम्म प्राप्त विवरणअनुसार, प्रदर्शनमा गम्भीर घाइते भएका १३ जनाको उपचारका क्रममा ज्यान गएको हो। मृतकहरूमध्ये ६ जनाको ट्रमा सेन्टरमा, २ जनाको सिभिल अस्पतालमा, १ जनाको केएमसी अस्पतालमा, १ जनाको त्रिवि शिक्षण अस्पतालमा र ३ जनाको एभरेष्ट अस्पतालमा मृत्यु भएको छ।
प्रदर्शनका क्रममा कति घाइते भए भन्ने यकिन विवरण भने आइसकेको छैन। यस घटनाले राजधानीमा तनाव बढाएको छ भने सुरक्षा व्यवस्था थप कडा पारिएको छ।