• Tuesday, March 3, 2026

मसाल–माओवादी एकताले बागलुङ–१ को चुनावी समीकरण फेरियो, राजमोका कृष्ण अधिकारी उत्साहित



बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि ११ राजनीतिक दलका ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । तीमध्ये केही उम्मेदवार तेस्रो प्रयासमा संसद् प्रवेशको योजनामा छन् भने केही नयाँ अनुहार इतिहास रच्ने लक्ष्यसहित चुनावी मैदानमा होमिएका छन् । यसपटक भने नेकपा मसाल र माओवादी धारको एकताले चुनावी समीकरणलाई निर्णायक मोडमा पुर्‍याएको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ ।दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा क्षेत्र नम्बर १ अन्तर्गत जिल्ला सदरमुकामसहित बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका पर्दछन् । परम्परागत रूपमा एमाले, कांग्रेस र राष्ट्रिय जनमोर्चाको बलियो प्रभाव रहँदै आएको यस क्षेत्रमा यसपटक नयाँ दल र स्वतन्त्र सोच बोकेका उम्मेदवारले समेत कडा चुनौती दिएका छन् ।यस निर्वाचनमा अन्य दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिए पनि नेकपा मसाल र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेपछि वामपन्थी मत एकीकृत हुने संकेत देखिएको छ । मसालले बागलुङ–१ मा राजमोका उम्मेदवार कृष्ण अधिकारीलाई खुलेर सघारेको छ । यही कारण अधिकारीको चुनावी अभियान थप उत्साहित र आक्रामक देखिएको छ ।

कृष्ण अधिकारीलाई वाम मतको भरोसा

राष्ट्रिय जनमोर्चाका उम्मेदवार कृष्ण अधिकारी यसपटक चित्रबहादुर केसीको राजनीतिक विरासत सम्हाल्ने दाउमा छन् । बागलुङ नगरपालिका–१२ अमलाचौर निवासी अधिकारी लामो समयदेखि वाम आन्दोलनमा सक्रिय नेता हुन् । उनले २०३८ सालमा अखिल छैठौंमार्फत राजनीति सुरु गरेका थिए । पछि नेकपा मसाल र त्यसको मोर्चा संगठन राष्ट्रिय जनमोर्चामा रहेर विभिन्न जिम्मेवारी सम्हालेका अधिकारी चित्रबहादुर केसीको निजी सचिवालयमा समेत लामो समय काम गरेका व्यक्ति हुन् ।चित्रबहादुर केसीले यसपटक समानुपातिक रोजेपछि क्षेत्र नम्बर १ मा उनको स्थान भर्न अधिकारीलाई अघि सारिएको हो । मसाल र माओवादी धारको समर्थनपछि अधिकारी वाम मत विभाजन नहुनेमा आशावादी देखिएका छन् । चुनावी प्रचारका क्रममा अधिकारीले आफू परिवर्तन होइन, निरन्तरताको उम्मेदवार भएको दाबी गर्दै आएका छन् ।

एमालेका केसी तेस्रो प्रयासमा

नेकपा एमालेका तर्फबाट हिराबहादुर केसी तेस्रोपटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् । काठेखोला गाउँपालिका–३ धम्जा निवासी केसी विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । धौलागिरी बहुमुखी क्याम्पस बागलुङको स्ववियू सभापति हुँदै उनी एमाले बागलुङको दुई कार्यकाल अध्यक्ष भइसकेका छन् ।२०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका हरिबहादुर खड्कासँग र २०७९ को गण्डकी प्रदेशसभा निर्वाचनमा कांग्रेसकै दीपेन्द्रबहादुर थापा मगरसँग १ हजार ४८० मतान्तरले पराजित भएका केसी यसपटक तेस्रो प्रयासमा संसद् भवन छिर्ने रणनीतिमा छन् । तर वाम मतको ठूलो हिस्सा राजमो–मसाल गठबन्धनतर्फ जान सक्ने आकलनले एमालेको जित चुनौतीपूर्ण देखिएको छ ।

कांग्रेस र नयाँ दलको चुनौती

नेपाली कांग्रेसबाट भीम श्रीस पहिलोपटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । विद्यार्थी राजनीतिबाट उदाएका श्रीस २०६२ सालमा त्रिभुवन विश्वविद्यालय काठमाडौंको स्ववियू सभापति भएका थिए । जैमिनी नगरपालिका–१० राङखानी निवासी श्रीस हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका छन् । लोकप्रिय अनुहार भए पनि जिल्लामा प्रत्यक्ष रूपमा लामो समय सक्रिय नहुँदा कांग्रेसको संगठनात्मक शक्ति परीक्षणको विषय बनेको छ ।यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट युवा उद्यमी सुशील खड्का चुनावी प्रतिस्पर्धामा छन् । अमेरिकामा इन्जिनियरिङ अध्ययन गरेर फर्किएका खड्का बागलुङ नगरपालिका–३ गुठी निवासी हुन् । राजनीतिमा नयाँ भए पनि युवामाझ आकर्षण बढ्दै गएको रास्वपाले पुराना दलको मत काट्ने अनुमान गरिएको छ ।

अन्य दल पनि मैदानमा

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कल्याण विक्रम आचार्य उम्मेदवार छन् । जैमिनी नगरपालिका–१ कुश्मिसेरा निवासी आचार्य राप्रपा युवा संगठनमा सक्रिय छन् । यस्तै नेपाल मानवतावादी पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेशनल रिपब्लिक नेपाल, श्रम संस्कृति पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादीका उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा छन् ।

मतदाता र मतदान संरचना

जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार बागलुङ–१ मा ४ पालिकाका ३७ वडामा ९८ हजार ४६ मतदाता रहेका छन् । यस क्षेत्रका लागि ४८ वटा मतदानस्थल र १ सय १५ मतदान केन्द्र तोकिएका छन् ।राजनीतिक विश्लेषकहरूका अनुसार मसाल–माओवादी एकताले वाम मत एकीकृत भएमा कृष्ण अधिकारीको जितको सम्भावना बलियो देखिन्छ । यही कारण अन्य दलका उम्मेदवारहरूका लागि बागलुङ–१ को चुनाव यसपटक निकै चुनौतीपूर्ण बन्दै गएको छ ।

Please Login to comment in the post!

you may also like