डडेल्धुरा राजनीतिक रूपमा सधैं चर्चामा रहने जिल्ला हो । २०४८ सालदेखि नै एक मात्र संसदीय निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा यसपटकको चुनाव झनै रोचक बन्दै गएको छ । यहाँ करिब ९२ हजार मतदाता छन् भने ७ स्थानीय तह रहेको यो जिल्लामा दलहरूको वास्तविक शक्ति र मतदाताको मनोविज्ञानबीच ठूलो अन्तर देखिन थालेको छ ।डडेल्धुराका ७ स्थानीय तहमध्ये ४ वटामा कांग्रेसका पालिका प्रमुख छन् भने २ वटामा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए । तर, त्यो जित शुद्ध रूपमा पार्टीगत शक्तिको परिणाम थिएन । कांग्रेस, माओवादीसहित पाँच दलीय गठबन्धनको प्रभावले स्थानीय तहमा परिणाम आफ्नो पक्षमा पारेको विश्लेषण गरिन्छ । यसले प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन बिना एक्लै जित्न सक्ने अवस्था कतिपय दलका लागि चुनौतीपूर्ण रहेको संकेत गर्छ ।
डडेल्धुरामा एमाले परम्परागत रूपमा कमजोर मानिन्छ । यसपटक पनि एमालेले चक्र स्नेहीलाई टिकट दिएको छ । २०७९ को निर्वाचनमा पनि उनले टिकट पाएका थिए । तर, उनले कांग्रेस बीपीका कर्ण मल्ललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । देउवाविरुद्ध कांग्रेसभित्रको असन्तुष्टि मतमा बदलिने अपेक्षा गरिए पनि कर्ण मल्लले जम्मा ७ हजार ५ सय ३५ मत मात्र पाए । त्यो मत स्वतन्त्र उम्मेदवार सागर ढकालभन्दा ५ हजार ५ सय ७ मत कम थियो । यसले बीपी कांग्रेसको सांगठनिक कमजोरी पनि प्रष्ट पारेको छ ।डडेल्धुरामा दुई स्थानीय तह प्रमुखमा तत्कालीन माओवादीले जितेको भए पनि त्यो कांग्रेससँगको गठबन्धनकै परिणाम थियो । प्रतिनिधिसभा निर्वाचन जित्ने खालको प्रभाव माओवादीसँग एक्लै छैन । तैपनि, नेकपाबाट केन्द्रीय सदस्य मानसिंह माललाई उम्मेदवार बनाइएको छ । तर, स्थानीय तहको परिणाम हेर्दा माओवादीको मत आधार निर्णायक बन्ने अवस्था कमजोर देखिन्छ ।२०७९ को निर्वाचनमा सागर ढकालले पाएको मतलाई धेरैले ‘वैकल्पिक उम्मेदवारप्रतिको आकर्षण’ का रूपमा व्याख्या गर्छन् । उनी न डडेल्धुराका स्थायी बासिन्दा थिए, न राष्ट्रिय राजनीतिमा प्रभावशाली अनुहार । तर, स्थापित दलहरूप्रति असन्तुष्ट मतदाताले उनलाई विकल्पका रूपमा रोजे । यही मत आधार अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो ‘स्टार्टिङ बेस’ मानिरहेको छ । रास्वपाका नेताहरूका अनुसार करिब १३ हजार मत पार्टीको सुरुआती आधार हुन सक्छ ।