पुस २७ पृथ्वी नारायण शाहको जन्मजयन्तीका रूपमा चिनिन्छ। तर २०८२ सालको पुस २७ नेपाली राजनीतिक इतिहासमा अर्कै कारणले स्मरणीय बन्ने देखिन्छ। यही दिन नेपाली कांग्रेसका दुई महामन्त्री—गगन थापा र विश्वप्रकाश शर्मा—ले आफ्नै पार्टीभित्र जडता, अवसरवाद र नेतृत्वको निरन्तरताविरुद्ध आवाज उठाउँदै एक प्रकारको ‘जेन–जी विद्रोह’लाई औपचारिक रूप दिए।यो विद्रोह अचानक जन्मिएको होइन। वर्षौंदेखि शेरबहादुर देउवा र उनका स्वार्थी आसेपासेहरूको नियन्त्रणमा अल्झिएको नेपाली कांग्रेसप्रति आम कार्यकर्ता र मतदातामा गहिरो निराशा थियो। व्यक्तिगत रूपमा भन्नुपर्दा, म आफैंले कांग्रेससम्बन्धी समाचार चासोका साथ पढ्न छाडिसकेको थिएँ। पार्टी भित्रबाट नै आत्मसुधारको सम्भावना कमजोर देखिन्थ्यो।
गगन थापा र विश्वप्रकाश शर्माप्रति मेरो असन्तुष्टि पनि यहीँबाट सुरु हुन्छ। उनीहरूसँग देउवाको नेतृत्वविरुद्ध समयमै सशक्त र निर्णायक विद्रोह गर्ने राजनीतिक वैधता र क्षमता दुवै थियो। तर त्यो साहस लामो समयसम्म देखिएन। त्यसैले ढिलो भए पनि अहिले देखिएको यो विद्रोहलाई म सकारात्मक रूपमा लिन्छु। यो ढिलै भए पनि आवश्यक कदम हो।यस विशेष महाधिवेशनका वास्तविक उपलब्धि आगामी दिनमा मात्र देखिनेछन्। तर अहिले नै देखिएको एउटा महत्त्वपूर्ण संकेत के हो भने, नेपाली कांग्रेसका बहुसंख्यक नेता र प्रतिनिधिले पार्टीलाई समयअनुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकतालाई औपचारिक रूपमा स्वीकार गरेका छन्। यो भावना केवल नेतृत्व परिवर्तनको माग मात्र होइन, वैचारिक पुनर्जागरणको संकेत पनि हो।यसको अर्थ नेपाली कांग्रेसको आन्तरिक मामिलासम्म सीमित छैन। यसको प्रभाव आगामी निर्वाचन र नेपालको समग्र राजनीतिक दिशासँग प्रत्यक्ष रूपमा जोडिएको छ।नेपालमा सयौं राजनीतिक दल छन्। तर तीमध्ये अधिकांश या त कम्युनिस्ट विचारधारामा आधारित छन् वा वैचारिक रूपमा अस्पष्ट छन्। लोकतन्त्र, उदारवाद, व्यक्तिगत स्वतन्त्रता र राज्य–नागरिक सम्बन्धलाई स्पष्ट रूपमा परिभाषित गर्ने दलहरूको विकल्प अत्यन्त सीमित छ। नेपाली कांग्रेस ती सीमित विकल्पहरूमध्ये एक हो। त्यसैले कांग्रेसभित्र हुने प्रत्येक हलचल राष्ट्रिय चासोको विषय बन्नु स्वाभाविक हो।
आज पुस २८ गते सुरु भएको विशेष महाधिवेशन कस्तो दिशामा जान्छ र कसरी टुंगिन्छ, अहिले नै ठोकुवा गर्न सकिँदैन। तर यस महाधिवेशनसँग मेरा तीन वटा स्पष्ट अपेक्षा छन्।पहिलो, नेपाली कांग्रेसले कम्युनिस्ट पार्टीहरूसँगको अवसरवादी गठबन्धनको राजनीतिक मूल्यांकन गर्नुपर्छ। गिरिजाप्रसाद कोइरालाले सशस्त्र द्वन्द्व अन्त्यका लागि र शेरबहादुर देउवाले सत्ता स्वार्थका लागि कम्युनिस्टहरूसँग हात मिलाए। परिणामतः वैचारिक स्पष्टता हरायो र ‘मिलिजुली खाने र खुवाउने’ प्रवृत्ति मौलायो। यही प्रवृत्तिले नेपालको राजनीतिक अस्थिरता र कुशासनलाई संस्थागत गर्यो।गगन र विश्वप्रकाश स्वयं पनि पार्टीका उच्च पदाधिकारीका रूपमा यस प्रक्रियाका साक्षी मात्र होइन, केही हदसम्म सहभागी पनि हुन्। त्यसैले उनीहरूले यो गलत अभ्यासप्रति आफ्नो जिम्मेवारी स्वीकार्दै नयाँ बाटो प्रस्ताव गर्नुपर्छ। यो महाधिवेशनबाट प्राप्त म्यान्डेट प्रयोग गरेर कांग्रेसले भविष्यमा कम्युनिस्ट दलहरूबाट आफ्नो नीति, संगठन र दृष्टिकोण स्पष्ट रूपमा अलग राख्न सके मात्रै लोकतान्त्रिक प्रतिस्पर्धा अर्थपूर्ण हुन्छ। त्यसो भयो भने जनताले दुई फरक राजनीतिक विकल्पमध्ये एक रोज्ने वास्तविक अवसर पाउनेछन्।दोस्रो, नेपालको पार्टी प्रणाली आफैंमा गम्भीर रूपमा जटिल र अवरोधपूर्ण छ। योग्य र इच्छुक नागरिकका लागि राजनीतिमा प्रवेश लगभग असम्भवजस्तै छ, तर राजनीतिलाई आजीवन पेसा बनाएकाहरूले अवसर कब्जा गरिरहेका छन्। नेपाली कांग्रेसको यो महाधिवेशनले पार्टीभित्र मात्र होइन, सम्पूर्ण राजनीतिक प्रणालीमा संगठनात्मक सुधार, आर्थिक पारदर्शिता र आन्तरिक लोकतन्त्रको उदाहरण स्थापित गर्नुपर्छ।सामाजिक सञ्जालमा गगन, विश्वप्रकाश वा कांग्रेसप्रति आलोचना तीव्र भए पनि धेरैले मनमनै स्वीकारेको यथार्थ के हो भने, वर्तमान जटिल अवस्थामा देशलाई नेतृत्व दिने सामर्थ्य उनीहरूमा छ। यदि कांग्रेस सुधारियो भने, त्यसले अन्य दलमाथि पनि सुधारको दबाब सिर्जना गर्नेछ।तेस्रो, जेन–जी विद्रोह स्वाभाविक र स्वस्फूर्त थियो। तर विद्रोहपछि उदाएका केही अनुहार स्वाभाविक देखिएका छैनन्। रवि लामिछाने वा बालेन शाहमा इमानदार इच्छा हुनसक्छ, तर उनीहरू वैचारिक रूपमा अझै अस्पष्ट छन्। कुलमान घिसिङ सक्षम प्रशासक हुन्, तर राजनीतिक नेतृत्वका लागि क्षमता मात्र पर्याप्त हुँदैन—विचार, दृष्टिकोण र वैचारिक स्पष्टता पनि चाहिन्छ।
यो बुझाइ मेरो मात्र होइन, धेरै नेपालीको साझा बुझाइ हो।त्यसैले यदि नेपाली कांग्रेस साँच्चै सुधारियो भने, आगामी निर्वाचनमा रवि र बालेनजस्ता विकल्पप्रति सशंकित मतदाताका लागि कांग्रेस एउटा भरोसायोग्य विकल्प बन्न सक्छ।यो विशेष महाधिवेशन असफल भयो भने नेपाली कांग्रेस इतिहासको डस्टबिनमा पुग्नेछ। सफल भयो भने, यसले केवल कांग्रेसलाई होइन, नेपालको लोकतान्त्रिक भविष्यलाई पनि सकारात्मक दिशामा डोर्याउनेछ।