काठमाडाैं। आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको पहिलो चार महिनामा ७२ करोड १६ लाख राजस्व संकलन गरेको छ, जुन लक्ष्यमध्ये ८०.२५ प्रतिशत हो। गत वर्ष यही अवधिमा ७० करोड ३८ लाख संकलन भएको थियो।
कार्यालयका अनुसार आयकर विवरण नपेश गर्ने करदाता बढ्नु, जेनजी आन्दोलनका कारण सेवामा बाधा आउनु, मालपोत कार्यलय प्रभावित भई पुँजीगत लाभकर घट्नु लगायत कारणले लक्ष्य पूरा हुन सकेन।
गत वर्ष कार्यालयले ३ अर्ब १४ करोड लक्ष्य राखेर २ अर्ब ९४ करोड संकलन गरेको थियो। आगामी महिनामा करदाता शिक्षाको विस्तार, राजस्व चुहावट नियन्त्रण र बक्यौता कर असुलीमा जोर दिँदै लक्ष्य हासिल गर्ने कार्यालयले जनाएको छ।