काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाराको सिमरा विमानस्थलमा बुधबार भएको घटनालाई अत्यन्तै संवेदनशील भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकबाट यस्तो निष्कर्ष सार्वजनिक गरिएको हो।
बैठकपछि प्रवक्ता मनिष झाले राजनीतिक दललाई स्वतन्त्र रूपमा सार्वजनिक कार्यक्रम गर्न पाउने अधिकार सुनिश्चित गर्न राज्य जिम्मेवार हुनुपर्ने बताए।
उनका अनुसार राजनीतिक वातावरण निर्माणका लागि दलहरूले कार्यक्रम आयोजना गर्न पाउनुपर्छ र सरकारले त्यस्तो कार्यक्रमका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउनुपर्छ।
प्रवक्ता झाले भने, “आज सिमरामा भएको घटना संवेदनशील छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर सरोकार छ, र सरकारको आवश्यक ध्यानाकर्षण माग गर्दछौँ।”
रास्वपाले आसन्न निर्वाचनको माहोल बिघ्न नदिन सुरक्षा संयन्त्रले उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकता पनि औँल्याएको छ।