• Thursday, March 5, 2026

२५० भन्दा बढी ढिला ठेक्का तोडिने प्रक्रिया अघि बढ्यो, मन्त्री घिसिङको कडाइ


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले समयमा सम्पन्न नहुने सडक तथा पूर्वाधार निर्माणका २५० भन्दा बढी ठेक्का तोड्ने प्रक्रिया अघि बढेको बताएका छन्।

बुधबार सिंहदरबारमा बाजुराको मार्तडी–कोल्टी सडकखण्ड पुनःसञ्चालनको मागसहित युवाहरूले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री घिसिङले ढिलासुस्ती गर्ने ठेकेदारको प्रवृत्ति अब सहन नसकिने स्पष्ट पारे। उनले सरकारका महत्वपूर्ण पूर्वाधार योजनाहरू वर्षौं–वर्ष होल्डमा रहँदा जनताले सास्ती बेहोर्नुका साथै राष्ट्रको विकास नै अवरुद्ध हुने बताए।

मन्त्री घिसिङले बजेट विनियोजन भएर पनि काम सुरु नगर्ने ठेकेदार राष्ट्रविरोधी प्रवृत्तिमा लागेको टिप्पणी गर्दै, अबदेखि समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई मात्र अवसर दिने नीति लागू गरिने जानकारी दिए।

उनका अनुसार सडक, भौतिक, सहरी विकास तथा ऊर्जा–सिचाइका ठूला आयोजनाहरू रोकिँदा विकासको गति ठप्प हुने भएकाले अब ढिलाइ गर्ने कसैलाई पनि उन्मुक्ति नदिने सरकारको अडान छ।

बाजुराको मार्तडी सडकखण्डलाई तत्काल सञ्चालनमा ल्याउने मागप्रति उनले मन्त्रालयले विशेष ध्यान दिने आश्वासन दिए। आवश्यकता परे प्रदेश सरकारसँग सहकार्य गर्दै संघ सरकारले सडक सुचारु गर्न पहल गर्ने मन्त्री घिसिङले बताए।

Please Login to comment in the post!

you may also like