काठमाडौं। सरकारले देशका चार प्रमुख भन्सार कार्यालयका भन्सार प्रमुखहरूको जिम्मेवारीमा हेरफेर गरेको छ। वीरगञ्ज, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र मेची भन्सार कार्यालयका प्रमुखहरूलाई एकअर्को स्थानमा सरूवा गरिएको हो।
सरकारको पछिल्लो निर्णयअनुसार यसअघि वीरगञ्ज भन्सार कार्यालयका प्रमुख रहेका विष्णुप्रसाद ज्ञवालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जिम्मेवारी दिइएको छ। त्रिभुवन विमानस्थल भन्सारका तत्कालीन प्रमुख टंक लम्साललाई भने अर्थ मन्त्रालयमा सरूवा गरिएको छ।
त्यसैगरी, अर्थ मन्त्रालयमा कार्यरत कृष्ण मैनालीलाई वीरगञ्ज भन्सार कार्यालयको प्रमुखको रूपमा जिम्मेवारी दिइएको छ।
मेची भन्सार कार्यालयका प्रमुख हरपहर पौडेललाई भैरहवा भन्सार कार्यालयमा सरूवा गरिएको छ भने भैरहवा भन्सारमा कार्यरत शिवलाल न्यौपानेलाई मेची भन्सार कार्यालयको प्रमुखको रूपमा पठाइएको छ।
भन्सार प्रशासनलाई थप प्रभावकारी बनाउने उद्देश्यले गरिएको यो हेरफेरबाट राजस्व संकलन, भन्सार व्यवस्थापन तथा सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ।