• Tuesday, March 3, 2026

कीर्तिपुर डाँडाबाटै तीन लाख कमाउने युग : गगनको भनाइमा खनालको समर्थन, रिमोट वर्क र विदेशी लगानी खुला बनाउँदै सरकार


काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘कीर्तिपुर डाँडामा बसेर ल्यापटपमार्फत महिनामा तीन लाख रुपैयाँ कमाउन सकिन्छ’ भन्ने उदाहरण दिँदा अर्थमन्त्री रामेश्वर खनालले त्यसमा पूर्ण समर्थन जनाएका छन्।

फर्मर प्लानर फोरम नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले नेपालमा रिमोट वर्क र विदेशी लगानी प्रवर्द्धन गर्न सरकार नीतिगत सुधारमा सक्रिय रहेको बताएका हुन्।

उनले भने, “आज नेपालका धेरै युवा विदेशमा रहेका कम्पनीका लागि काठमाडौँका क्याफे, चिया पसल र आफ्नै कोठाबाटै काम गरिरहेका छन्। राज्यले यो बदलिँदो कामको स्वरूपलाई स्वीकार गरेर समर्थन गर्नुपर्छ।”

खनालका अनुसार ८–९ वर्षअघि रिमोट वर्करलाई ५ सय अमेरिकी डलरसम्म अन्तर्राष्ट्रिय कार्ड प्रयोग गर्न मिल्ने व्यवस्था लागू गरिएपछि युवाहरूका लागि अनलाइन काम सहज बनेको थियो। यही अनुभवका आधारमा पछिल्लो समय विदेशी लगानीकर्ताले आफ्नो लाभांश सहजै विदेश लैजान सक्ने गरी नियम बनाइएको उनले बताए।

“लगानीकर्ता डरायो भने नयाँ लगानी आउँदैन,” खनालले भने, “त्यसैले वाणिज्य बैंकमार्फत कानुनी प्रक्रियामा लाभांश विदेश लैजान सकिने व्यवस्था गरिएको हो।”

अर्थमन्त्री खनालले विगतमा युवाहरूका आवश्यकता र विश्व बजारमा भइरहेको परिवर्तनलाई राज्यले समयमै नबुझ्दा समस्या आएको स्वीकार गर्दै अब सरकारले डिजिटल रोजगारी, रिमोट वर्क र विदेशी लगानीलाई अर्थतन्त्रको मुख्य आधार बनाउने दिशामा अघि बढिरहेको स्पष्ट पारे।

कार्यक्रममा गगन थापाले नेपालमै बसेर विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता युवामा रहेको उल्लेख गर्दै, ‘अब बेरोजगारीको समाधान वैदेशिक रोजगारी होइन, रिमोट रोजगारी हुनुपर्छ’ भन्ने धारणा राखेका थिए।

सरकारका पछिल्ला नीतिगत सुधारसँगै काठमाडौँका क्याफे, गाउँका डाँडा र घरका कोठाबाटै लाखौं रुपैयाँ कमाउने नयाँ पुस्ताको बाटो खुल्दै गएको सन्देश कार्यक्रममा स्पष्ट देखिएको थियो।

Please Login to comment in the post!

you may also like