• Tuesday, March 3, 2026

रौतहटको लमाह पुल नजिक एलपी ग्यास ट्यांकर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, ग्यास लिकका कारण जोखिम बढ्दो


काठमाडौँ। पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक आज बिहान एलपी ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ एटी २११४ नम्बरको ट्यांकर अनियन्त्रित भई बीच सडकमा पल्टिएपछि आवतजावत ठप्प भएको हो। दुर्घटनामा ट्यांकर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका छन्। घाइते चालकको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापामगरले जानकारी दिए।

दुर्घटनापछि पूर्वबाट आएका सवारीसाधनहरू चन्द्रनिगाहपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि र पश्चिमतर्फबाट आएका सवारीसाधनहरू धन्सार पुल नजिकै रोकिएका छन्। ट्यांकर सडकको बीच भागमै पल्टिएको र ग्यास लिक भइरहेकाले ठूलो दुर्घटनाको जोखिम बढेको प्रहरीले जनाएको छ।

स्थिति नियन्त्रणमा लिन र ग्यास ट्यांकर सुरक्षित रूपमा हटाउनका लागि जनकपुरबाट ग्यास कम्पनीका प्राविधिकसहितको टोली घटनास्थलतर्फ पठाइसकिएको छ। सुरक्षाको दृष्टिले घटनास्थल वरपर प्रहरी परिचालन गरिएको छ भने सर्वसाधारणलाई अनावश्यक रूपमा नजिक नजान आग्रह गरिएको छ।

Please Login to comment in the post!

you may also like