काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यले सर्वोच्च अदालतबाट पुनःबहालीको आदेश पाएपछि न्यायको विजयी भएको बताएका छन्। सरकारले आफूलाई कार्यकारी निर्देशकबाट हटाउँदै जल तथा ऊर्जा आयोगमा सरुवा गरेको निर्णय न्यायालयले बदर गरिदिँदा आफूले ठूलो राहतको अनुभूति गरेको उनले प्रतिक्रिया दिए।
गत असोज ५ गते सरकारले शाक्यलाई कार्यकारी निर्देशकबाट हटाएर मनोज सिलवाललाई प्राधिकरणको निर्देशकमा नियुक्त गरेको थियो। सो निर्णयविरुद्ध शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलाशले उक्त निर्णय खारेज गर्दै शाक्यलाई पूर्ववत् कार्यकारी निर्देशकको पदमा पुनःबहाली गर्न परमादेश जारी गरेको हो।