• Tuesday, March 3, 2026

राजनीतिक सङ्कट समाधानको एकमात्र विकल्प निर्वाचन : प्रचण्ड



नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधानका लागि निर्वाचनबाहेक अर्को कुनै विकल्प नरहेको स्पष्ट पारेका छन्। काठमाडौँको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक अन्योल र सङ्कटको अन्त्य जनताको मतमार्फत मात्रै सम्भव हुने बताएका हुन्। उनका अनुसार लोकतान्त्रिक मूल्य, जनताको सार्वभौमिक अधिकार र राजनीतिक स्थायित्व सुनिश्चित गर्न निष्पक्ष तथा भयरहीत वातावरणमा चुनाव गरिनु अत्यावश्यक छ।

प्रचण्डले संसद् पुनर्स्थापनाको बहसभन्दा बाहिर निस्केर दलहरूले आगामी निर्वाचनको तयारीमा लाग्नुपर्नेमा जोड दिए। उनले भने, “आज देशका जनता भयरहीत वातावरणमा निष्पक्ष चुनावको माग गरिरहेका छन्। यस्तो अवस्थामा दलहरू आपसी विवाद र आरोप–प्रत्यारोपमा अल्झिनु हुँदैन, बरु जनताको चाहनाअनुसार चुनावको तयारीमा लाग्नुपर्छ।” उनका अनुसार निर्वाचनले मात्रै राजनीतिक वैधता, स्थिर सरकार र दीर्घकालीन समाधान दिन सक्छ।

उनले पछिल्लो समय देखिएको राजनीतिक अस्थिरता, सरकार गठन–विघटनको श्रृङ्खला र संवैधानिक विवादले देशलाई गम्भीर सङ्कटतर्फ धकेलेको उल्लेख गरे। यस्तो परिस्थितिमा जनताको विश्वास पुनः प्राप्त गर्न सबै राजनीतिक शक्ति जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो। उनले जनमतबाट निर्वाचित प्रतिनिधिहरूले मात्रै देशको आर्थिक, सामाजिक र राजनीतिक समस्या समाधान गर्न सक्ने बताए।

कार्यक्रममा प्रचण्डले कम्युनिस्ट शक्तिको भूमिकामाथि विशेष जोड दिएका थिए। उनका अनुसार इतिहासले प्रमाणित गरिसकेको छ कि देश विकास र जनताको पक्षमा ठोस काम गर्ने शक्ति कम्युनिस्ट आन्दोलन नै हो। “कम्युनिस्टले मात्रै श्रमिक, किसान, उत्पीडित वर्ग र राष्ट्रको हितमा नीतिगत तथा व्यवहारिक काम गर्न सक्छन्,” उनले भने। यही कारण वर्तमान परिस्थितिमा कम्युनिस्ट शक्तिबीच एकता अपरिहार्य आवश्यकता भएको उनले उल्लेख गरे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले राष्ट्रिय स्वाधीनताको रक्षा र देशमा विद्यमान बहुआयामिक सङ्कटको समाधानका लागि समान वैचारिक दृष्टिकोण बोकेका वाम शक्तिबीच ध्रुवीकरण सुरु भएको बताए। उनले यो ध्रुवीकरण कुनै व्यक्तिविशेष वा पदका लागि नभई राष्ट्र र जनताको हितका लागि भएको स्पष्ट पारे। उनका अनुसार वैचारिक स्पष्टता र एकताबद्ध शक्ति बिना बाह्य हस्तक्षेप, आर्थिक निर्भरता र सामाजिक असमानताको सामना गर्न कठिन हुन्छ।

प्रचण्डले दलहरूबीच देखिएको अविश्वास र टकरावको राजनीतिले लोकतन्त्र कमजोर बनाएको पनि बताए। उनले भने, “हामीले लोकतन्त्रलाई बलियो बनाउन आपसी सहकार्य, सहमति र प्रतिस्पर्धालाई स्वस्थ ढङ्गले अघि बढाउनुपर्छ।” उनका अनुसार चुनाव लोकतन्त्रको आधारस्तम्भ भएकाले त्यसलाई कमजोर पार्ने कुनै पनि गतिविधि राष्ट्रघाती हुने चेतावनी दिए।

कार्यक्रममा पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै प्रचण्डले पार्टीको वैचारिक र सङ्गठनात्मक मजबुतीमा नयाँ ऊर्जा थपिने विश्वास व्यक्त गरे। उनले जनताको समस्यासँग प्रत्यक्ष जोडिने राजनीति गर्नुपर्ने आवश्यकता औँल्याउँदै शिक्षा, स्वास्थ्य, रोजगारी, भूमि सुधार र सुशासन कम्युनिस्ट एजेन्डाका मुख्य विषय भएको बताए।

उनले वर्तमान विश्व राजनीतिक परिवेशको सन्दर्भ उल्लेख गर्दै नेपालले सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताए। राष्ट्रिय स्वाधीनता र आत्मसम्मान जोगाउँदै विकास र समृद्धिको बाटोमा अघि बढ्न आन्तरिक राजनीतिक स्थिरता अनिवार्य रहेको उनको भनाइ थियो। यसका लागि जनादेशसहितको बलियो सरकार आवश्यक हुने र त्यो निर्वाचनबाट मात्रै सम्भव हुने उनले दोहोर्‍याए।

प्रचण्डले अन्त्यमा सबै लोकतान्त्रिक र वाम शक्तिलाई जनताको चाहनाअनुसार जिम्मेवार भूमिका खेल्न आह्वान गरे। उनले भने, “आजको आवश्यकता व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको भविष्य सुरक्षित गर्नु हो। त्यसका लागि निष्पक्ष, स्वतन्त्र र भयरहीत निर्वाचन नै एकमात्र बाटो हो।” उनका अनुसार यही बाटोबाट मात्रै राजनीतिक स्थायित्व, सुशासन र समृद्ध नेपाल निर्माणको सपना साकार हुन सक्छ।

Please Login to comment in the post!

you may also like