• Tuesday, March 3, 2026

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह: सहभागिता विस्तारका लागि उपत्यका बाहिर आयोजना गर्ने तयारी"



त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा शैक्षिक सत्र २०८१ असार १ गतेदेखि २०८२ जेठ ३१ गतेसम्म विभिन्न तहमा उत्तीर्ण भएका कूल ८९ हजार १९९ विद्यार्थीमध्ये केवल १६ हजार ३८० जनाले मात्र दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिएको तथ्य सार्वजनिक भएपछि दीक्षान्त समारोहप्रति विद्यार्थीको पहुँच, खर्च र व्यवस्थापनका विषयमा गम्भीर बहस सुरु भएको छ। स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि (पीएचडी) तह समेटिएको उक्त एक शैक्षिक सत्रमा उत्तीर्ण विद्यार्थीको तुलनामा दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिने संख्या जम्मा १८ प्रतिशत मात्र रहँदा ८२ प्रतिशत विद्यार्थीले आवेदन नै नदिएको देखिएको छ। यसले काठमाडौं केन्द्रित दीक्षान्त समारोहले देशभरिका विद्यार्थीलाई समान अवसर दिन नसकेको स्पष्ट संकेत गरेको छ।

कामको सिलसिलामा व्यस्त हुनु, काठमाडौं आउन–जान लाग्ने उच्च खर्च, आवास र अभिभावकसहित उपस्थित हुनुपर्ने बाध्यताका कारण धेरै विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन नआएको त्रिविले स्वीकार गरेको छ। यसपटक अभिभावकसहित विद्यार्थीहरू उपस्थित हुँदा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भरिए पनि अझै ठूलो संख्याका विद्यार्थी समारोहमा सहभागी हुन नपाएको अवस्था रहेको उपकुलपति प्राडा दीपक अर्यालले बताएका छन्। उनका अनुसार पूर्वदेखि पश्चिम र कर्णालीसम्मका विद्यार्थी तथा अभिभावकका लागि काठमाडौं आउन लाखौं रुपैयाँ खर्चिनुपर्ने अवस्था छ, जसका कारण विकट गाउँ–बस्तीका विद्यार्थी दीक्षान्त समारोहबाट वञ्चित हुनुपरेको छ। यही यथार्थलाई मध्यनजर गर्दै त्रिविले अब काठमाडौं उपत्यकाभन्दा बाहिर पनि दीक्षान्त समारोह आयोजना गर्ने रणनीतिक निर्णय गरेको हो।

उपकुलपति अर्यालका अनुसार त्रिविले अब ५–६ वटा दीक्षान्त समारोह विभिन्न क्षेत्रीय केन्द्रमा आयोजना गर्ने तयारी थालेको छ, जसको पहिलो चरण कास्कीको पोखराबाट सुरु गर्ने योजना छ। उदाहरणका रूपमा डडेल्धुरा वा कञ्चनपुरतिरका विद्यार्थीलाई काठमाडौं बोलाउनुको सट्टा सोही क्षेत्र नजिकै दीक्षान्त समारोह आयोजना गर्दा विद्यार्थी र अभिभावक दुवैको खर्च घट्ने, सहभागिता बढ्ने र समारोहको व्यवस्थापन पनि सहज हुने अपेक्षा गरिएको छ। यही तयारीका लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराध अधिकारी, उपकुलपति अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिस्ट्रार केदार प्रसाद रिजालसहितको टोली अध्ययनका लागि पोखरा जाने तयारीमा रहेको छ र सबै पक्षको तयारी पूरा गरेर कार्यान्वयनमा जाने प्रतिबद्धता जनाइएको छ। विश्वविद्यालय अनुदान आयोगको फार्मत ‘पोखरा च्याप्टर’ का नाममा करिब ५ करोड रुपैयाँ बजेटसमेत छुट्याइएको छ, जसअन्तर्गत रेक्टर तहको अधिकारी पोखरामै राखेर परीक्षा सञ्चालनदेखि दीक्षान्त समारोहसम्मका कामहरू त्यहीँबाट गर्ने योजना बनाइएको छ। यसपछि क्रमशः पूर्वी क्षेत्रका लागि विराटनगरमा पनि दीक्षान्त समारोह आयोजना गर्ने दीर्घकालीन योजना त्रिविको रहेको छ। उपकुलपति अर्यालले दीक्षान्त समारोहलाई केवल औपचारिक कार्यक्रम मात्र नभई विद्यार्थी जीवनको महत्वपूर्ण उत्सवका रूपमा परिभाषित गर्दै सबै विद्यार्थी सहज रूपमा सहभागी हुन पाउनुपर्छ भन्ने मान्यताका आधारमा यो निर्णय गरिएको बताएका छन्।

काठमाडौंमा मात्र समारोह आयोजना गर्दा अत्यधिक भीड, अव्यवस्था र सीमित सहभागिताको समस्या देखिएकाले उपत्यका बाहिर समारोह गर्दा सहभागी संख्या स्वाभाविक रूपमा सन्तुलित हुने, व्यवस्थापन चुस्त हुने र विद्यार्थी तथा अभिभावकले दीक्षान्तको खुसी नजिकैबाट अनुभूति गर्न पाउने अपेक्षा गरिएको छ। यस कदमले क्षेत्रीय रूपमा विश्वविद्यालयको पहुँच विस्तार गर्नुका साथै शिक्षा प्रणालीलाई थप समावेशी बनाउने विश्वास त्रिवि नेतृत्वले लिएको छ, जसले भविष्यमा दीक्षान्त समारोहलाई साँच्चिकै सबै विद्यार्थीका लागि उत्सवमय र समान अवसरयुक्त बनाउने दिशामा महत्वपूर्ण परिवर्तन ल्याउने देखिन्छ।

Please Login to comment in the post!

you may also like