• Thursday, March 5, 2026

स्थलगत निरीक्षणमा कुलमान घिसिङ


ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार काठमाडौंको पूर्वी क्षेत्रमा रहेको बागमती नदी करिडोरको फोहोरमैला व्यवस्थापन तथा सडक मर्मतसम्भारको स्थलगत निरीक्षण गर्नुभएको छ। शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालसहित सम्बन्धित निकायका पदाधिकारीहरूको टोलीले गुह्येश्वरीदेखि सुन्दरीजलसम्मको नदी करिडोर र सडक स्तरोन्नतिबारे जानकारी लिएको थियो। टोलीले बागमती नदी किनारको ढल व्यवस्थापन, सडक विस्तार तथा स्तरोन्नतिलगायतका विषयमा प्रत्यक्ष अवलोकन गरेको थियो।

मन्त्री घिसिङले बागमती नदी करिडोरमा देखिएका ढल व्यवस्थापन र सडक स्तरोन्नतिको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले काठमाडौं उपत्यकाका नदी करिडोरमा सडक विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबीचको समन्वय अभावको समस्या छिट्टै हल गरिने बताउनुभयो।

‘काठमाडौं उपत्यकाका नदी सफा भएमा मात्र शहर सफा हुने भएकाले अल्पकालीन र दीर्घकालीन ढल व्यवस्थापन योजनासहित काम अघि बढाइरहेका छौं। प्रशोधन केन्द्रहरू चरणबद्ध रूपमा स्थापना गर्दैछौं। नदी करिडोरका सडक कालोपत्रे, मर्मतसम्भारलाई उच्च प्राथमिकतामा राखेका छौं। यसका लागि स्थानीय पालिकासँग समन्वयमा काम गरिरहेका छौं। सडक किनारमा बेवारिसे गाडीहरू हटाउन आवश्यक उपकरण उपलब्ध गराउँछौं, ती गाडी तत्काल हटाउन अनुरोध गर्दछु,’ मन्त्री घिसिङले भन्नुभयो।

सडक फराकिलो बनाउन नेपाल ट्रस्टको कार्यालयसँग समन्वय गरिने र चावहिल–सुन्दरीजल सडक विस्तारका लागि बाँकी पुल निर्माण तत्काल अघि बढाउन उहाँले निर्देशन दिनुभएको छ।


Please Login to comment in the post!

you may also like