नेपालका लागि चिनियाँ राजदूत छन सङले आगामी आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चीन सरकारले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले जारी द्विपक्षीय सहयोगका परियोजनामा प्रगति भएकोमा सन्तुष्टि जनाउँदै ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) मा उल्लेख्य सफलता हासिल भएको बताउनुभयो। शुक्रबार साँझ मूलधारका सञ्चारमाध्यमका प्रमुख तथा सम्पादकहरूसँगको छलफलमा राजदूत छनले नेपालमा व्यापार, लगानी, औद्योगिक पार्क निर्माणलगायत सबै क्षेत्रमा प्रगति भएको उल्लेख गर्नुभयो। केही आयोजनामा विलम्ब हुनु अस्वभाविक नभएको भन्दै उहाँले बिआरआई परियोजनाहरू प्रशासनिक प्रक्रियामा रहेको र स्थायी सरकार बनेपछि ती द्रुतगतिमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।
राजदूत छनले अन्तरिम सरकारसँग निकट सम्पर्क र समन्वयमा काम भइरहेको तर निर्वाचन नै प्राथमिकता रहेको स्पष्ट पार्नुभयो। आगामी चुनावपछि बन्ने सरकारले यी परियोजना तीव्र गतिमा कार्यान्वयन गर्न सक्ने उहाँको भनाइ छ। चीनको १५औँ पञ्चवर्षीय योजनाले नेपाललगायत छिमेकी देशहरूका लागि आर्थिक विकासको ढोका खोल्ने उहाँले जानकारी दिनुभयो। नेपाली कृषि उत्पादनलाई चिनियाँ बजारमा पुर्याउने परियोजनाको तयारी अन्तिम चरणमा पुगेको र यो योजना नेपाल र चीन दुवैका लागि वरदान सावित हुने उहाँको कथन छ।
राजदूत छनले नेपालको राजनीतिक स्थायित्व, विकास र समृद्धि नै चीनको चाहना रहेको दोहोर्याउनुभयो। रणनीतिक योजना तथा भरपर्दो विकास साझेदारको अभावमा नेपालको विकास सुस्त भएको विश्लेषण गर्दै उहाँले चीनको पञ्चवर्षीय योजनामा नेपालका परियोजनाहरू समेटिएको बताउनुभयो। ताइवान, हङकङ र मकाउ चीनका अभिभाज्य अङ्ग भएको मान्यताप्रति नेपालका सबै सरकारले एक चीन सिद्धान्तमा अटल ऐक्यबद्धता जनाएकामा उहाँले गहिरो आभार व्यक्त गर्नुभयो। चीन–नेपालबीचको मैत्री सधैँ सुमधुर रहेको र दुवै देशले संयुक्त राष्ट्रसङ्घलाई केन्द्रमा राखेर विधिमा आधारित विश्व व्यवस्था मान्दै अन्तरराष्ट्रिय मञ्चमा सहकार्य गर्दै आएको उहाँले उल्लेख गर्नुभयो।
जेनजी आन्दोलनको सन्दर्भमा राजदूत छनले नेपालमा राष्ट्रलाई केन्द्रमा राखेर सुशासन र सकारात्मक परिवर्तनका लागि भएको आन्दोलनलाई सकारात्मक रूपमा बुझेको बताउनुभयो। चीनको १५औँ पञ्चवर्षीय योजनामा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व सुदृढीकरण, जनहितलाई प्राथमिकता, प्रतिव्यक्ति आय २०,००० अमेरिकी डलर पु¥याउने लक्ष्य, विकास र सुरक्षा सन्तुलन, खुलापन नीति विस्तार, बहुपक्षीय व्यापार समर्थन, चिनियाँ विशेषतासहितको सुशासन र राष्ट्रिय एकीकरणमा जोड दिइएको उहाँले जानकारी दिनुभयो। अन्तमा, राजदूत छनले नेपालको विकासमा चीन सधैँ साथमा रहेको र आगामी दिनमा सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।