कहिल्यै एउटै पार्टी, एउटै आन्दोलन र एउटै उद्देश्यका सहयात्री रहेका जनार्दन शर्मा र गोपाल शर्मा अहिले रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यका लागि आमनेसामने प्रतिस्पर्धामा उत्रिएका छन्। २०७९ सालसम्मका सबै निर्वाचनमा एक–अर्काका सहयोगी र सहकर्मी रहेका यी दुई नेता माओवादी आन्दोलनभित्रको विभाजनपछि यसपटक फरक–फरक दलबाट चुनावी मैदानमा उत्रिएका हुन्।तत्कालीन नेकपा माओवादी केन्द्रमा रहँदा गोपाल शर्माले संगठन र चुनावी व्यवस्थापन सम्हाल्दै आएका थिए भने जनार्दन शर्मा संसद र सरकारको प्रमुख जिम्मेवारीमा थिए। तर पुष्पकमल दाहाल नेतृत्वको माओवादीले विभिन्न दलसँग एकता गर्दै नेकपामा रूपान्तरण भएपछि त्यस प्रक्रियामा असन्तुष्ट जनार्दन शर्मा अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठनतर्फ लागे। आफूलाई ‘नेतृत्व पुस्तान्तरणका पक्षधर’ बताउँदै आएका जनार्दन अन्ततः रुकुम पश्चिमबाट उम्मेदवार बनेका छन्।जनार्दनको यो निर्णयलाई उनका पूर्व सहकर्मी तथा अहिले नेकपाका उम्मेदवार गोपाल शर्माले भने ‘अवसरवादी कदम’ को संज्ञा दिएका छन्। “हामीले नै जनार्दनलाई यहाँको शक्तिशाली नेता बनायौं, तर आज उनले आन्दोलन, संगठन र कार्यकर्तालाई छाडेर व्यक्तिगत स्वार्थ रोजे,” गोपाल पक्षको आरोप छ। यही आधारमा गोपालले आफूलाई ‘गुरुको अवसरवादविरुद्धको चुनौती’ का रूपमा प्रस्तुत गर्दै मतदातामाझ पुगेका छन्।
२०३४ सालदेखि राजनीतिमा सक्रिय जनार्दन शर्मा माओवादी सशस्त्र संघर्षका क्रममा जनमुक्ति सेनाको उच्च तहसम्म पुगेका नेता हुन्। शान्ति प्रक्रियापछि अन्तरिम संसद सदस्यदेखि संविधानसभा सदस्य, शान्ति तथा पुनर्निर्माण मन्त्री, ऊर्जामन्त्री, गृहमन्त्री हुँदै अर्थमन्त्रीसम्मको जिम्मेवारी सम्हालिसकेका जनार्दनले २०७९ सालको निर्वाचनमा पनि जित हासिल गरेका थिए। अहिले भने उनले यसपटकको निर्वाचनलाई ‘अन्तिम अवसर’ का रूपमा लिएका छन्।तर नयाँ पार्टीबाट चुनावी मैदानमा उत्रँदा जनार्दनलाई हिजो आफैंले निर्माण गरेका नेता–कार्यकर्ताबाटै चुनौती सामना गर्नुपरेको छ। यसलाई जनार्दन पक्षले चुनौतीभन्दा अवसरका रूपमा व्याख्या गरेको छ। प्रलोपाका नेता गोर्खबहादुर केसी भन्छन्, “माओवादी फुटेको होइन, विघटन गरिएको हो। जनार्दनले पनि नयाँ यात्रा सुरु गरेका हुन् र हामी माओवादी आन्दोलनको मूल स्पिरिटमै अघि बढेका छौं।”उता गोपाल शर्मा भने संगठनात्मक आधार र निरन्तरताको राजनीतिमा आफू बलियो रहेको दाबी गर्छन्। १२ वर्षको उमेरमै विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका गोपालले माओवादी आन्दोलनका क्रममा विभिन्न जिल्लामा संगठन निर्माणको जिम्मेवारी सम्हालेका थिए। २०७१ देखि २०७७ सम्म जिल्ला अध्यक्ष, त्यसपछि केन्द्रीय सदस्य बनेका उनी २०७४ मा कर्णाली प्रदेशसभा सदस्य हुँदै अर्थमन्त्रीसमेत भएका थिए।
रुकुम पश्चिममा यसपटकको चुनावलाई रोचक बनाउने अर्को पक्ष भनेको गठबन्धनको गणित हो। एमालेले आफ्ना उम्मेदवार नन्दराम देवकोटाको उम्मेदवारी व्यवहारिक रूपमा निष्क्रिय पार्दै प्रत्यक्षतर्फ जनार्दनलाई समर्थन गर्ने निर्णय गरेको छ। २०७९ मा कांग्रेसको समर्थनमा जनार्दनले ३९ हजारभन्दा बढी मत ल्याएर जित्दा एमालेका देवकोटाले करिब १३ हजार मत पाएका थिए। यसपटक भने कांग्रेस, रास्वपा र अन्य दलले छुट्टाछुट्टै उम्मेदवार अघि सारेका छन्।जिल्लामा कुल १ लाख ६ हजारभन्दा बढी मतदाता रहेका छन्। साविक माओवादी केन्द्रको मत सुरक्षित गर्दै नयाँ मत तान्ने रणनीतिमा नेकपाका गोपाल शर्मा छन् भने आफ्नो पुरानो आधार जोगाउँदै एमालेको समर्थनमा जित निकाल्ने दाउमा प्रलोपाका जनार्दन शर्मा छन्।यसरी एक समय गुरु–शिष्य र सहयात्री रहेका जनार्दन र गोपालबीचको यो प्रतिस्पर्धा केवल व्यक्तिगत होइन, माओवादी आन्दोलनभित्रको राजनीतिक धारको संघर्षका रूपमा पनि हेरिएको छ। जनार्दनले आफ्नो राजनीतिक विरासत जोगाउने हुन् कि गोपालले ‘अवसरवादविरुद्धको चुनौती’ लाई विजयमा रूपान्तरण गर्ने हुन्, अथवा तेस्रो शक्ति उदाउने हो—यसको फैसला मतपरिणामले नै गर्नेछ।