• Tuesday, March 3, 2026

शक्ति संघर्षले चिरिएको नाउपा: तीन वर्षमै छ टुक्रा, संस्थापक नेताहरू नै फरक–फरक दलबाट उम्मेदवार


धनगढी — टीकापुर घटनाको पृष्ठभूमिमा पहिचानको राजनीतिलाई मुख्य आधार बनाएर पश्चिम तराईमा उदाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) स्थापना भएको तीन वर्ष नपुग्दै गम्भीर विभाजनको अवस्थामा पुगेको छ। पार्टीका संस्थापक तथा शीर्ष नेताहरूबीच चर्किएको शक्ति संघर्षका कारण नाउपा हाल छ वटा फरक–फरक समूहमा विभाजित भएको छ, जसले पार्टीको पहिचान र राजनीतिक प्रभावलाई कमजोर बनाएको छ।रेशम चौधरी र उनकी पत्नी तथा तत्कालीन अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीचको सत्ता र नेतृत्व संघर्ष नाउपाको विभाजनको मुख्य कारण बनेको देखिन्छ। पार्टीका संरक्षक मानिएका रेशम चौधरी अलग पार्टीबाट उम्मेदवार बनेका छन् भने अध्यक्ष रहेकी रञ्जिता श्रेष्ठ चौधरीले नाउपालाई नेकपामा विलय गराएकी छन्। नाउपाको राजनीतिक आधारभूमि मानिएको कैलाली निर्वाचन क्षेत्र–१ मै साबिक नाउपाका नेताहरू छ टुक्रामा विभाजित भएर फरक–फरक दलबाट उम्मेदवार बनेका छन्।

रेशम चौधरीले नाउपाबाट अलग भएर ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ गठन गरे पनि उनको उम्मेदवारी निर्वाचन आयोगले बदर गरिसकेको छ। टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका छन् भने अर्का नेता प्रदीप चौधरी उज्यालो नेपालबाट चुनावी प्रतिस्पर्धामा छन्। नाउपाको अर्को समूह श्रम संस्कृति पार्टीमा समाहित भएको छ, जहाँबाट सरस्वती चौधरी उम्मेदवार बनेकी छन्। उक्त पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित समूह भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विलय भएको छ, जसबाट कैलाली–१ मा साबिक नाउपाकै कोमल ज्ञवाली उम्मेदवार बनेका छन्। यस्तै, रुपा चौधरी आम जनता पार्टीबाट उम्मेदवार बनेकी छन्।रेशम–रञ्जिता दम्पतीबीचको शक्ति संघर्षले थारु समुदायको राजनीतिक एकताको प्रतीक बनेको नाउपाको अवस्था कमजोर बन्दै गएको विश्लेषकहरू बताउँछन्। पार्टी गठनको छोटो समयमै नाउपाले उल्लेखनीय सफलता हासिल गरेको थियो। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा कैलालीका तीन निर्वाचन क्षेत्रमा प्रत्यक्ष जित हात पार्नुका साथै प्रदेश सभाका छ निर्वाचन क्षेत्रमा प्रत्यक्ष विजय हासिल गरेको थियो। त्यस्तै, कैलालीका चार स्थानीय तहमा पनि नाउपाका उम्मेदवार विजयी भएका थिए। सोही निर्वाचनमा रञ्जिता श्रेष्ठ चौधरी कैलाली निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधि सभामा निर्वाचित भएकी थिइन्।

तर स्थापना भएको तीन वर्ष नपुग्दै नाउपाको त्यो राजनीतिक सफलता स्मृतिमा सीमित हुन पुगेको छ। अहिले कैलाली निर्वाचन क्षेत्र–१ मा साबिक नाउपाबाट टुक्रिएर अलग पार्टीमा गएका चार उम्मेदवारसहित कांग्रेसका जनकराज चौधरी र एमालेका द्वारिकाप्रसाद न्यौपानेबीच प्रतिस्पर्धा भइरहेको छ।स्थानीय तहमा पनि नाउपाको विभाजन स्पष्ट देखिएको छ। साबिक नाउपाबाट निर्वाचित चार स्थानीय तह प्रमुखमध्ये टीकापुरका रामलाल डगौरा थारु नेकपाबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् भने जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी उज्यालो नेपालमा आकर्षित भएका छन्।

सुदूरपश्चिम प्रदेश सभामा साबिक नाउपाका सात सांसद भने पद जोगाउने बाध्यताका कारण रञ्जिता श्रेष्ठसँगै नेकपामा समाहित भएका छन्। तीमध्ये छ जना सांसद अघिल्लो समय रेशम चौधरी निकट मानिन्थे। तीनै तहमा गरी वडाध्यक्षबाहेक नाउपाबाट १६ जना जनप्रतिनिधि निर्वाचित भएका थिए।नाउपा गठन हुँदाका २१ केन्द्रीय सदस्यमध्ये केही यसअघि नै निष्क्रिय भइसकेका थिए। संस्थापक केन्द्रीय सदस्य आलोक चौधरी र आशिन चौधरी रेशम चौधरीको समूहमा लागेका छन्। नाउपालाई सुरुदेखि नजिकबाट नियाल्दै आएका टीकापुरका नागरिक अगुवा कृष्णराज सर्वहारी भन्छन्, “एक निर्वाचनबाट अर्को निर्वाचनसम्म आइपुग्दा नाउपा छ टुक्रामा विभाजित हुनुको मुख्य कारण रेशम–रञ्जिताबीचको शक्ति संघर्ष हो। स्थापना गर्दाका नारा र प्रतिबद्धता बिर्सेर सत्ता र पदको दौडमा लाग्दा पार्टीको यो अवस्था आएको हो।”

Please Login to comment in the post!

you may also like