काठमाडौं। सहकारी क्षेत्रको सुशासन सुनिश्चित गर्न सहकारी विभागले एक व्यक्तिले एक समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक बन्न सक्ने कानुनी व्यवस्था कडाइका साथ लागू गर्न निर्देशन दिएको छ।
विभागले सोमबार देशभरका सहकारी संस्थाहरूलाई सर्कुलर जारी गर्दै सहकारी ऐन २०७४ को दफा ४१ कार्यान्वयनमा आएको बेवास्ताप्रति आपत्ति जनाउँदै तत्काल पालना गर्न आग्रह गरेको हो।
पहिले पनि पटक–पटक निर्देशन जारी गर्दा समेत केही व्यक्तिहरू दोहोरो सञ्चालकका रूपमा कार्यरत रहेको गुनासो आउने गरेको विभागले जनाएको छ। विभागको निर्देशनमा भनिएको छ, “निर्देशनका बाबजुद पनि दोहोरो सञ्चालकमा कार्यरत सदस्यहरू रहेको जानकारी प्राप्त भएकाले सो व्यवस्था अविलम्ब लागू गर्न सम्बद्ध सहकारी संस्था तथा सञ्चालक सदस्यलाई यो निर्देशन जारी गरिएको छ।”
यसबाहेक, सहकारी नियमनका भूमिकामा रहेका सबै नियमनकारी निकायलाई नियमित अनुगमन, निरीक्षण र सुपरिवेक्षण गरेर उक्त व्यवस्था कार्यान्वयन भएको वा नभएको जाँच गर्न पनि विभागले निर्देशन दिएको छ।
विभागको यो कदमले सहकारी क्षेत्रलाई पारदर्शी, उत्तरदायी र व्यवस्थित बनाउन मद्दत गर्ने अपेक्षा राखिएको छ।