नेपाली सेनाले प्रकृति र वातावरण संरक्षणका क्षेत्रमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ र यसका उपलब्धिहरू विश्वमै उदाहरणीय मानिन्छन्। चितवन राष्ट्रिय निकुञ्जको स्थापना (विसं २०३०) पछि विसं २०३२ देखि नेपाली सेना राष्ट्रिय निकुञ्जको सुरक्षा तथा संरक्षणमा तैनाथ हुँदै आएको छ। हाल १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष र एक सिकार आरक्षमा करिब आठ हजारभन्दा बढी फौज परिचालित छन्। सेनाको नियमित गस्ती, ‘अपरेसन संरक्षण’ र आधुनिक प्रविधिको प्रयोगले वन्यजन्तु तथा जैविक विविधताको संरक्षणमा उल्लेखनीय सफलता हासिल गरेको छ।नेपालमा गैँडा र पाटेबाघको संख्या क्रमशः ७५२ र ३५५ पुगेको तथ्याङ्कले यसको प्रमाणित गर्दछ। सेनाले जटिल भौगोलिक बनावट, मौसमी चुनौती र प्रतिकूल परिस्थितिका बाबजुद जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै आएको छ। संरक्षित क्षेत्रभित्र धार्मिक, पर्यटकीय तथा सरकारी पूर्वाधारको संरक्षणमा पनि सेना संलग्न छ। यसै क्रममा ‘सफा हिमाल अभियान’ मार्फत हिमालमा ११९ टनभन्दा बढी फोहोर सङ्कलन गरिएको छ र शव तथा अस्थिपञ्जर व्यवस्थापनसमेत गरिएको छ।
प्रकृति संरक्षण शिक्षालयमार्फत नेपाली सेनाको फौज र निजामती गेम स्काउटलाई तालिम प्रदान गरिएको छ। यसले संरक्षणकर्मीहरूको क्षमता अभिवृद्धि गर्दै निकट भविष्यमा रेन्जर तहसम्मको तालिम पनि सञ्चालन गर्ने योजना अघि बढाएको छ। सेनाको पहलमा नेपाल शून्य शिकारी वर्ष मनाउन सफल भयो र विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारले यसको प्रशंसा गरेको छ।
हरेक अभियान, ‘वन र वन्यजन्तु सबैका लागि’ तथा ‘प्रकृति र वन्यजन्तु भावी पुस्ताका लागि’ जस्ता नारासहित सञ्चालन गरिएको छ। ‘एक सैनिक, एक फलफूल बिरुवा’ अभियानमार्फत हरियाली प्रवद्र्धन गर्दै, वातावरण सन्तुलित बनाउने कार्यमा पनि सेनाले योगदान पुर्याइरहेको छ। यसरी नेपाली सेनाको निरन्तर र समन्वित प्रयासले लोपोन्मुख वन्यजन्तु, वनस्पति र हिमाली क्षेत्रको संरक्षणमार्फत जैविक विविधता र दिगो पर्यापर्यटनमा महत्वपूर्ण योगदान पु¥याएको छ।