कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीहरूका किसानहरू जङ्गली हात्तीका कारण रातभरि खेतमा जाग्राम बस्न बाध्य छन्। धान, मकै, उखुजस्ता बालीहरू हात्तीले खाएर र खुट्टाले नोक्सानी पुर्याउने गरेका छन्। पुराना परम्परागत तरिकाहरूले हात्ती भगाउन नसक्दा किसानहरू नयाँ विकल्पको खोजीमा जुटेका छन्।
स्थानीय किसानहरूका अनुसार, हात्तीको बथान साँझ नपर्दै खेतहरूमा प्रवेश गर्छन् र पेट भर खाएपछि मात्रै निकुञ्ज वा आसपासका वन क्षेत्रमा फर्कने गर्छन्। यो क्रम बाली भित्र्याउन नसक्दासम्म चलिरहन्छ, जसले मानवीय तथा भौतिक क्षतिको जोखिम बढाएको छ। "आगो देखाएर, पटाका पड्काएर वा टिन ठटाएर पनि हात्ती भाग्दैनन्," एक प्रभावित किसानले भने।सामुदायिक वन राष्ट्रिय महासङ्घ सुदूरपश्चिम प्रदेश कार्यसमितिका महासचिव तथा वन्यजन्तु विज्ञ पुनाराम चौधरीले हात्ती भगाउन माहुरीपालनलाई उत्तम विकल्प ठहराएका छन्। "माहुरी भएको ठाउँ नजिकै हात्ती नै आउँदैनन्। माहुरीको भुनभुन आवाज हात्तीलाई पटक्कै मन पर्दैन," उनले भने। लालझाडी गाउँपालिका–४ डाँडाजाइँस्थित कञ्चन सामुदायिक वनमा दशकअघि यो प्रयोग सफल भएको थियो। त्यसबेला हात्ती नियमित रूपमा प्रवेश गर्ने वन क्षेत्रमा माहुरीका घार राखेपछि हात्तीहरूले त्यो बाटो प्रयोग गर्न छाडेका थिए। तर, स्थानीय समुदायले यसलाई निरन्तरता नदिँदा समस्या फेरि दोहोरिएको छ।चौधरीका अनुसार, माहुरीपालनले हात्ती भगाउनुका साथै स्थानीय बासिन्दालाई मह बेचेर आयआर्जन गर्ने अवसर पनि दिन्छ। "यो उपायलाई विस्तार गर्नुपर्छ," उनले जोड दिए।अर्को विकल्पका रूपमा नेपाल–भारत वन्यजन्तु सम्बन्धी छलफलमा सुझाइएको खुर्सानी, मोबिल र तमाखुको मिश्रण गरी जुटको डोरीलाई तारबारको रूपमा प्रयोग गर्ने विधि उल्लेख्य छ। विसं २०७४ मा कञ्चनपुरको पुनर्वास नगरपालिकाका सामुदायिक वन क्षेत्रमा यो परीक्षण सफल भएको थियो। "मिश्रण लगाएको डोरीलाई तीन तहमा तान्यौँ। हात्तीले त्यो बाटो प्रयोग गर्नै छाड्यो र दोध नदीतर्फको वैकल्पिक बाटो प्रयोग गर्न थाले," चौधरीले सम्झिए। मिश्रणको तीव्र गन्ध टाढासम्म पुग्ने र डोरी छुँदा पोल्ने भएकाले हात्तीहरू डराउने गरेको पाइएको छ। हालसम्म पनि सो बाटो हुँदै हात्ती नआएको उनले बताए।तेस्रो विकल्पका रूपमा जडीबुटी खेतीतर्फ प्रोत्साहन दिन सकिने चौधरीले सुझाए। मिन्था, क्यामोमाइलजस्ता जडीबुटीहरूले हात्तीलाई टाढा राख्नुका साथै किसानलाई राम्रो आम्दानी दिन सक्छन्। तर, यसका लागि बजार व्यवस्थापन आवश्यक छ। सुनदेवी उपभोक्ता समितिका हवलदार चौधरीले भने, "विगतमा दातृ निकायको सहयोगमा जडीबुटी खेती र प्रशोधन मेसिन दिइएको थियो। बजार नपाएपछि किसानहरूले खेती छाडे र मेसिनहरू खिया लागेर थन्किएका छन्।"
हात्तीको समस्या मध्यवर्ती क्षेत्रका किसानहरूका लागि ठूलो चुनौती बनेको छ। विज्ञहरूका अनुसार, माहुरीपालन, गन्धयुक्त डोरीको प्रयोग र जडीबुटी खेतीजस्ता विकल्पहरू प्रभावकारी रूपमा लागू गर्दा हात्तीलाई खेतबारीबाट टाढा राख्न सकिन्छ। यसले बाली जोगाउनुका साथै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्नेछ। स्थानीय प्रशासन र सम्बन्धित निकायहरूले यी उपायहरूलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ।