काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आज शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा आगामी प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी, राष्ट्रियसभाको भूमिकालगायत समसामयिक विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा अध्यक्ष दाहालले राष्ट्रियसभाको प्रभावकारी भूमिका सुनिश्चित गर्न छिट्टै अधिवेशन आह्वान गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए। साथै उनले राष्ट्रियसभाका सदस्यहरूका लागि उपलब्ध सुविधामा कटौती नगर्न समेत अनुरोध गरेका छन्।
सचिवालयका अनुसार भेटमा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र समयमै सम्पन्न गर्ने विषयमा सरकार र संसद् बीच आवश्यक समन्वयलाई अझ सुदृढ बनाउने सहमति समेत बनेको छ। छलफलले संसद्–कार्यपालिका सम्बन्ध सुदृढ बनाउँदै लोकतान्त्रिक प्रक्रिया मजबुत बनाउने दिशामा सकारात्मक सन्देश दिएको बताइएको छ।