नेपालमा फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी डिजिटल प्लेटफर्म पोलिमार्केटमा नेपाली राजनीतिका भविष्यलाई लिएर लाखौँ डलरको दाउ चलिरहेको छ। पोलिमार्केट भन्नाले अन्तर्राष्ट्रिय ‘प्रेडिक्सन मार्केट’ हो, जहाँ मानिसहरूले पैसाको माध्यमबाट कुनै घटना घट्ने सम्भावनामा लगानी गर्छन्।
हालका तथ्यांक अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धेरै सिट जित्ने विश्वासमा ५६ प्रतिशत लगानीकर्ता पैसा राखिरहेका छन्, नेपाली कांग्रेस २३ प्रतिशत र एमाले १४ प्रतिशतमा सीमित छन्।यस्तो डिजिटल बजारमा प्रवेशका लागि भौतिक पैसा होइन, क्रिप्टोकरेन्सीको डिजिटल वालेट आवश्यक पर्छ। नेपालमा क्रिप्टोकरेन्सी प्रतिबन्धित भए पनि अमेरिका, युरोप वा अस्ट्रेलियामा बस्ने गैरआवासीय नेपालीहरूले सजिलै सहभागी हुन सक्छन्।
विशेषज्ञहरू भन्छन्, यस्ता ब्लकचेन आधारित प्लेटफर्महरूले मतदाता मनोविज्ञानमा असर पार्न सक्छन्। कतिपय अवस्थामा यो जासुसी एजेन्सीभन्दा बढी प्रभावकारी पनि हुन सक्छ। तर प्रश्न रहन्छ—के नेपाली राजनीतिको भविष्य नेपालका मतदाताले तय गर्छन् कि म्यानहटनको डिजिटल अल्गोरिदमले?निर्वाचन सुरक्षा अब केवल सडक र मञ्चमा सीमित छैन; डेटा सुरक्षा, सामाजिक सञ्जाल र एआई दुरुपयोग रोकथाम पनि यसमा समावेश छ। तर प्रविधिको तीव्र विस्तारले सरकारी नियन्त्रणभन्दा बाहिर नयाँ ‘डिजिटल प्रेडिक्सन मार्केट’ फस्टाइरहेको छ।